Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो, चिनियाँ सामान र मुस्ताङको स्याउ बजारमा आउँदै

दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो, चिनियाँ सामान र मुस्ताङको स्याउ बजारमा आउँदै

म्याग्दी : वर्षासँगै पहिरो खसेर दुई दिनदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मङ्गलवार बिहानदेखि सुचारु भएको छ । सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरो र ठूल्ठूला चट्टानले आइतबारदेखि बन्द भएको सडक पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको हो ।बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भीरमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडक योजनाको पहलमा मुस्ताङस्थित नेपाली सेनाको इन्द्र बक्स गणको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडकमा रहेका ठुला चट्टानहरू फुटाएर सडक खुलाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

बिच सडकमा खसेका ठुला चट्टान (ढुङ्गा)लाई विस्फोटक पदार्थको सहयोगमा फुटाएर डोजरले सफा गरी पहिरो पन्छाएपछि गए राति साढे १० बजेबाट सडक खुलेको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्राविधिक, कर्मचारी, नेपाली सेना र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले राति अबेरसम्म पहिरो हटाउने काम गरेर सडक खुलाएका हुन् । एकतर्फी रूपमा भए पनि सडक खुलेपछि म्याग्दीको काभ्रे क्षेत्र र मुस्ताङको घाँसामा रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।पहिरो खसेर सडक अवरुद्ध हुँदा मुस्ताङबाट स्याउ र आलु बोकेका मालवाहक ट्रक तथा चिनिया सामान लिएर कोरला नाकाबाट नेपालतर्फ आएका कन्टेनरहरू घाँसामै रोकिएका थिए । यसै गरी सोह्र श्राद्धको लागि मुस्ताङको कागबेनी र दर्शन गर्न प्रसिद्ध मुक्तिनाथ मन्दिरका लागि हिँडेका तीर्थयात्रीहरू, मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक, कर्मचारी, स्थानीयवासी लगायत काभ्रे भीरमा रोकिनुपरेको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि दुवैतर्फ रोकिएका सवारीसाधन तथा मानिसहरू आ–आफ्नो बाटो लागेको बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।

रसुवा जिल्लाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी सीमा नाका बाढी पहिरोले अवरुद्ध भएपछि ती दुई नाकाबाट मालसामान ढुवानी गर्ने कन्टेनर तथा ठुला ट्रकहरू पनि अहिले मुस्ताङ–तिब्बत कोरला नाकाबाट आवतजावत गर्न थालेका छन् । नेपालीहरूको मुख्य चाडहरू दसैँ तिहार नजिकिँदै गर्दा नेपाली बजारमा दैनिक उपभोग्य खाद्यान्नलगायत मालसामानहरू ल्याउन सुरु भएसँगै बेनी–जोमसोम–कोरला सडक खण्डमा सवारीसाधनको चाप बढेको छ । यस खण्डमा अहिले दैनिक जसो साना ठूला गरेर ५ सयभन्दा बढी सवारीसाधनहरू गुड्ने गर्दछन् ।

पर्वतको माल ढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको दूरी कुल २ सय २ किलोमिटर रहेको छ भने बेनी–जोमसोम सडक ७६ किमी तथा जोमसोमदेखि कोरलासम्म १ सय १५ किमी दूरी रहेको छ । राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर अन्तर्गत रहेको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत सडक स्तरोन्नति र कालोपत्रे गर्ने तथा ठाउँ ठाउँमा पक्की बेलिब्रिजलगायत संरचनाहरु निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij