Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

इन्सपेक्टर सापकोटाको उच्च सतर्कताले जोगियो मनहरी प्रहरी चौकी

इन्सपेक्टर सापकोटाको उच्च सतर्कताले जोगियो मनहरी प्रहरी चौकी

मकवानपुर : हालैको जेनजी आन्दोलनले मुलुकभर त्रास र अव्यवस्था फैलायो। आन्दोलनकारीले प्रहरी कार्यालयदेखि राजनीतिक दलका कार्यालयसम्म आक्रमण गर्दा ठूलो भौतिक क्षति मात्र होइन, सुरक्षाकर्मीहरू समेत घाइते भए।

हेटौंडादेखि चितवनसम्मका अधिकांश प्रहरी कार्यालय तोडफोड र आगजनीको चपेटामा परे। तर, त्यहीबीच मकवानपुरको मनहरी प्रहरी चौकी (इलाका प्रहरी कार्यालय मनहरी) भने प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा सकुशल रह्यो।

आन्दोलनको दिन विहान सात बजेदेखि बजार बन्द गराउँदै सुरु भएको थियो। सुरुवाती चरणमा सवारी साधन रोक्नेमात्र गतिविधि भए पनि मकवानपुर तथा देशका विभिन्न स्थानमा प्रहरीसँगको विवाद बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर गयो।

आन्दोलन चर्किएसँगै हेटौंडादेखि चितवनसम्मका प्रहरी चौकीमा आक्रमण भयो। देशका कयौ प्रहरी कार्यालयमा आगजनी गरेर प्रहरी लखेटिए । दर्जनौं चौकीमा तोडफोड र आगजनी भयो। प्रहरीका अनुसार धेरै प्रहरीहरु घाइते भएका छन्।

आन्दोलन बढ्दै जाँदा दिउँसो १२ बजेतिर मनहरी क्षेत्र पनि अशान्त बन्यो। आन्दोलनकारीले सडकमा टायर बाल्न थाले, प्रहरीले स्वास्थ्यमा असर पार्ने भन्दै चेतावनी दिए पनि प्रदर्शनकारीहरुले सुनेनन्। पछि राजनीतिक दलका स्थानीय कार्यालयहरू समेत तोडफोडमा परे। स्थिति भयावह बन्दै गयो।

त्यसैबीच आन्दोलनकारीले मनहरी प्रहरी चौकीमा समेत आक्रमणको प्रयास गरे। तर, प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा खटिएका प्रहरीको सतर्कताले चौकी सुरक्षित रह्यो। स्थानियहरुका अनुसार जनशक्ति अभाव र सुरक्षाका साधन पर्याप्त नभए पनि त्यहाँ कार्यरत प्रहरीहरु चौकी जोगाउन निरन्तर प्रयास गरिरहे । जुन सफल पनि भयो ।

हेटौंडामा बिहानैदेखि आन्दोलन सुरु भएकाले चौकीका धेरै प्रहरी त्यतै खटिइसकेका थिए। चौकीमा स्रोत साधन समेत सीमित रहेको प्रष्ट महसुस गर्न सकिन्थ्यो। माथिल्लो निकायबाट तुरुन्त थप मद्दत आउन सम्भ्व पनि थिएन ।

प्रहरी कार्यालय सुरक्षित रहनुको कारणबारे स्थानीयले पनि प्रहरी निरिक्षक सापकोटाको संयमित नेतृत्वलाई मुख्य ठानेका छन्। उनी समुदायसँग संवादमा जोड दिने अधिकारीका रूपमा परिचित छन्।

आन्दोलन चर्किए पनि बल प्रयोगभन्दा अघि छलफल र समझदारीको बाटो रोजेका कारण चौकी बचाउन सफल भएको स्थानीय अगुवाहरूको भनाइ छ। साथै स्थानिय निकाय र अन्य सुरक्षा निकायसँगको समन्वयनले पनी ठुलो क्षती नभएको स्थानिय बताउँछन ।नजिकैका प्रहरी कार्यालयहरूमा आगजनी हुँदा मनहरीस्थित प्रहरी कार्यालय सकुशल रहनुले ठूलो उदाहरण दिएको छ।

मनहरीका एक व्यापारीले भने–‘दिउँसो त स्थिति निकै भयावह थियो। हामीले इलाका प्रहरी चौकी पनि जल्छ कि भनेर त्रास लिएका थियौं। तर चौकी सुरक्षित रहँदा केही राहत भयो।’त्यस्तै एक विद्यार्थीले भने–‘प्रहरीले कठोर भन्दा बढी शान्तिपूर्ण उपाय प्रयोग गरे। त्यसैले प्रहरी कार्यालय नजलेको हो।’

जेनजी आन्दोलनले देशभर गम्भीर क्षति पुर्‍याए पनि मनहरी प्रहरी चौकी सुरक्षित रहनुले एउटा सन्देश दिएको छ — विपत्तिको बेला संयम, संवाद र दृढ नेतृत्वले ठूलो विनाश रोक्न सक्छ। प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वलाई यस घटनाले थप मजबुत उदाहरण बनाएको छ।

   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij