Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जितियाको निराहार व्रत आज

जितियाको निराहार व्रत आज

महोत्तरी : सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।

यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा बताउछन्।

पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् । योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी/देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई व्युताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij