Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जेनजी आन्दोलन: लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

जेनजी आन्दोलन: लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

काठमाडौँ : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ।

महासंघले कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवाहरू तथा सुरक्षा निकायहरू संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ।

उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ। “सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,” विज्ञप्तिमा भनिएको छ।

महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ। साथै यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपील गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij