Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

काठमाडौंमा तोडफोड र आगजनीपछि महानगरद्वारा सरसफाइ अभियान सुरु

काठमाडौंमा तोडफोड र आगजनीपछि महानगरद्वारा सरसफाइ अभियान सुरु

काठमाडौं : € काठमाडौं महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीका घटनापछि नष्ट भएका सामग्रीको व्यवस्थापन र सरसफाइ अभियान सुरु गरेको छ ।

आन्दोलनका क्रममा विभिन्न स्थानमा टायर बाल्दा निस्केको फोहोर, सवारीसाधनमा गरिएको आगजनीबाट बाँकी रहेका धातु, प्लास्टिक तथा अन्य अवशेषलाई महानगरले तत्काल हटाउन थालेको हो ।

महानगरका अनुसार आगजनी र तोडफोडका कारण सडक तथा मुख्य व्यापार क्षेत्रहरूमा ठूलो मात्रामा फोहोर र धुवाँका अवशेष जम्मा भएको थियो । यसले वातावरणीय प्रदूषणसँगै जनस्वास्थ्यमा समेत असर गर्ने सम्भावना रहेकाले तत्काल फोहोर व्यवस्थापन आवश्यक भएको जनाएको छ ।

महानगरका सरसफाइ कर्मचारी, दमकल र अन्य प्राविधिक टोलीलाई परिचालन गरी टायर बालेर बाँकी रहेका फोहोर संकलन, सडक धुने कार्य र अवशेष हटाउने अभियान सुरु गरिएको  छ । साथै, आगजनीबाट क्षतिग्रस्त सार्वजनिक संरचना र यातायातका साधनहरूको अवस्थाको विवरण संकलन गर्ने काम समेत भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले स्थानीयवासीलाई सहकार्यका लागि अनुरोध गर्दै आगजनी वा तोडफोडबाट बाँकी रहेका अवशेषलाई सकेसम्म महानगरका सरसफाइ टोलीलाई जानकारी गराउन आग्रह गरेको छ ।

महानगरले सरसफाइ मात्र नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थानीय समुदाय, सुरक्षाकर्मी र सम्बन्धित निकायसँग समन्वयमा रहेर निगरानी गर्ने योजनासमेत अघि सारेको छ ।

महानगरपालिकाले नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै सुरक्षित र स्वच्छ काठमाडौं बनाउन सबैको सहकार्य अपरिहार्य रहेको जनाएको छ ।

आफ्नो क्षतिग्रस्त कार्यालय भवन अगाडि सफाइ गर्दै सुरक्षाकर्मी । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij