काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।
सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ
वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन्।
सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij