काठमाडौं : जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेपछि जेन्जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको प्रष्ट पार्दै जेन्जी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको हो।
प्रेस विज्ञप्ती जारी गर्दै जेनजीले भनेको छ- ‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तिनकुने घटना भन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रु ग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ। हामी सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अन्तर्राष्ट्रिय समुदायलाई यो यथार्थलाई स्वीकार गरी जिम्मेवार ढंगले अघि बढ्न अपिल गर्दछौँ। गोली र असुर ग्यासले अब युवाहरूको आवाज दबाउन सकिँदैन। न्याय, मर्यादा र नयाँ राजनीतिक भविष्यको माग सडकमा गुञ्जिएको छ, र कुनै पनि दमनले त्यसलाई रोक्न सक्ने छैन।’
लाखौँको संख्यामा नयाँ पुस्ता सडकमा आइसकेकाले वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य रहेको भन्दै जेनजीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, विभिन्न अस्पतालहरुमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij