काठमाडौं : देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आज काठमाडौंमा प्रदर्शन सुरू गरेको छ।उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ।आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको उल्लेख गरिएको छ। जेनजीको प्रदर्शनलाई राजनीति दलका नेता, कलाकार लगायतले समर्थन जनाएका छन्।

यसैबिच जेनजीको प्रदर्शनलाई लिएर काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियो।
माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्नेछन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइनेछन्। माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइने बताइएको छ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij