Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘नेपो बेबी विनर, जनता लुजर’ : सञ्जालदेखि सडकसम्म युवा

‘नेपो बेबी विनर, जनता लुजर’ : सञ्जालदेखि सडकसम्म युवा

काठमाडौँ : संसारभरका संगीतप्रेमीमाझ प्रिय एउटा गीत छ- ‘द विनर टेक्स इट अल’ । सन् १९८० मा सार्वजनिक भएको यो गीत सांगीतिक ब्यान्ड एबीबीएका सदस्य बेनी एन्डरसन र ब्योर्न उल्भियसले लेखेका थिए ।

गीतका पंक्तिले यसो भन्छन्-

दी विनर टेक्स इट अल दी लुजर ह्याज टु फल इट्स सिम्पल एण्ड इट्स प्लेन ह्वाइ शुड आई कम्प्लेन ?

यो गीतको प्रसंग आज किन निकालिएको होला भन्ने तपाईंलाई लाग्ला । अहिले नेपालमा यो लोकप्रिय ब्यान्ड एबीबीएको सदाबहार गीत अझ बढी सान्दर्भिक बनेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेको छ, अनि यसप्रति देशव्यापी आक्रोश तीव्र छ ।

सामाजिक सञ्जाल प्रतिबन्धमा ‘मनोमानी’ सरकारलाई आज नेपाली युवाले यसरी नै प्रश्न गरिरहेका छन् । टिकटकदेखि इन्स्टाग्राम, लिङ्क्डइनदेखि रेडिक्टसम्म यो गीतको पृष्ठभूमिमा नेता र नेताका छोराछोरीहरूको ’लक्जरी लाइफ’ देखाइँदा लाखौं युवाका मनमा दबेर बसेको आक्रोशलाई ज्वालामुखी झैँ विस्फोट गराइरहेको छ ।अर्थात् यो गीत रिलिज हुँदा जेन जी पुस्ताको आगमन नै भएको थिएन, मिलेनियल पुस्ताको कथा थियो यो गीतमा ।

सामाजिक सञ्जाल प्रतिबन्धको असर समाजको हरेक तह र तप्कामा परेको छ । अझ नेपालको जेन जी पुस्ता सबैभन्दा बढी आक्रान्त बनेको छ भन्दा दुई मत हुनै सक्दैन । किनकि यो पुस्ता प्रविधिको उपभोग गर्दै हुर्किएको हो ।

‘जनताका छोराछोरी सधैँ गरिबी, बेरोजगारी र अभावको कारण पिल्सिनुपर्ने र नेताका छोराछोरी भने लक्जरी लाइफ बिताउने ?’ भन्ने कटु यथार्थ पोख्ने स्वीडिस गीतको सान्दर्भिकता आज फेरि बढेको छ । अधिकांश नेताहरुको राजनीति बाहेक अन्य केही काम गर्दैनन्, न उनीहरूको आयस्रोत नै पारदर्शी छ । पछिल्ला पुस्ताका युवाहरुले यसको जवाफ खोजिरहेका छन्– ती विलासी जीवनको आधार के हो ? हाम्रो करमाथि कसरी मोजमस्ती चलिरहेको छ ?

‘नेपो बेबी’ एक्सपोज ट्रेन्ड

‘नेप्पो बेबी’ नामक ’एक्सपोज ट्रेन्ड’ को सुरुवात भने २०२२ बाट नै भएको थियो । २०२२ को डिसेम्बरमा न्यू वर्क म्यागेजिनको ‘दी एयर अफ दी नेपो बेबी’ शीर्षकको लेखपछि प्रभावशाली व्यक्तिका सन्तानहरुलाई नेपो बेबी भन्न थालिएको थियो । यो ट्रेन्डले हलिउड, बलिउडदेखि राजनीतिक वृत्तसम्म प्रभावशाली व्यक्तिका सन्तानले आफ्ना बाबु–आमाको पद, प्रतिष्ठा र सम्पत्तिको आडमा सजिलै सफलता हासिल गरेको कुरालाई उजागर गर्छ । ‘नेपो बेबी एक्सपोज ट्रेन्ड’ पछिल्लो समय इन्डोनेसियाका सांसदहरुलाई दिइएको मासिक सुविधा, नेताहरुको छोराछोरीको लाइफ स्टाइललाई लिएरदेखि एसिया क्षेत्रमा सुरु भएको देखिन्छ । यद्यपि बलिउड र केही राजनीतिक क्षेत्रमा फाट्टफुट्ट भइरहेकै थियो ।

Nepo Baby and Gen Z1

यही ट्रेन्डलाई नेपालमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुरु गरे । यहाँको ‘नेपो बेबी’ राज्यसत्ताको हरेक अंगमा जरा गाडेको राजनीतिक विकृति, भ्रष्टाचार र वंशवादको प्रतिबिम्ब हो । स्वदेशमा रहेका युवादेखि वैदेशिक रोजगारीको लागि विदेशमा पसिना बगाइरहेका युवाहरुले समेत यो ट्रेन्डलाई खुलेर समर्थन गर्न थाले । नेपालमा बस्नेहरु यहाँको गरिबी, बेरोजगारीको बारेमा बहस गरिरहेका छन् भने विदेशमा हुनेहरुले ‘नेताका छोराछोरीको जीवन लक्जरी बनाउन दु:ख गरिरहेका छौं’ भन्दै व्यंग्य गरिरहेका छन् ।

अनि यही बेला टिकटक र भाइबर बाहेक अन्य सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमले नयाँपुस्ताभित्र बलिरहेको आक्रोशको आगोमा घिउ थप्ने काम गरेको छ । वाक स्वतन्त्रतामाथि बन्चरो चलाएको र आम नागरिकको जीविकोपार्जनमाथि खेलबाड गरेको भन्दै यो निर्णयले युवालाई सडकमा ल्याउँदैछ । उनीहरू भनिरहेका छन्- ‘हाम्रो आवाज दबाउन खोज्दैछौ ? थाहा छैन, जति दबाउँछौ, उति ठुलो विस्फोट हुन्छ ।’

‘नेपो बेबी’ विनर, जनता लुजर ? 

‘नेपो बेबी’को विलासी जीवनशैलीमा मात्र सीमित छैन युवाको आक्रोश । यो त वर्षौंदेखि जरा गाडेको राजनीतिक विकृति, भ्रष्टाचार, सरकारी काममा ढिलासुस्ती, शिक्षा प्रणालीको कमजोरी र समग्रमा देशको भविष्यमाथि अनिश्चितताको छायामा हुर्किएको असन्तुष्टि हो ।

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको कुरा जगजाहेर छ । ठुला–ठुला परियोजनादेखि सामान्य सरकारी सेवामा समेत कमिसनविना काम हुँदैन भन्ने जेन जीले समेत बुझिसकेका छन् । जनताले रगत–पसिना बगाएर तिरेको करको पैसा नेता र उनका आसेपासेको निजी स्वार्थ र विलासितामा खर्च भइरहेको छ ।

‘द विनर टेक्स इट अल’ गीतको अर्थ यहाँ अरु बढी सान्दर्भिक हुन्छ । सत्तामा पुग्नेहरू नै ‘विनर’ हुन्, जसले राज्यको ढुकुटीमाथि कब्जा जमाएर मोजमस्ती गर्छन् र आम जनता सधैँ ’लुजर’ बनेर पिल्सिन बाध्य छन् । नेपालको यथार्थ यही हो ।

जनताको स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासमा खर्च हुनुपर्ने अर्बौं रुपैयाँ नेताका छोराछोरीका महँगा गाडी, विदेश यात्रा, आलिसान बंगला र उच्च शिक्षामा खर्च भइरहेको छ । शमशेर नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोश यसैको प्रतिध्वनि हो, ‘अब अति भयो, युवाहरु उठौं । यो देशमा नेता र तीनका छोराछोरीले हाम्रा बा-आमाले तिरेको करको दोहन गरे ।

Gen Z

अब नजागे कहिले जाग्ने । भ्रष्ट्रचार, बेथिति, बेरोजगारी विरुद्ध एमाले, कांग्रेसहरुको लुट कहिलेसम्म ? प्रश्न मात्रै गर्ने कि सडकमै उत्रिने ? यो अभियान देशभर आवश्यक छ । सामाजिक सञ्जाल, सडक र हरेक सरकारी कार्यालयमा प्रश्न गरौं । सुधार आफैंबाट गर्ने हो ।’

दक्ष र ऊर्जावान् युवाहरूले आफ्नो मातृभूमिमा भविष्य नदेखेर खाडीका तातो बालुवादेखि युरोप र अमेरिकाका चम्किला सहरसम्म पुग्न बाध्य भएको अवस्था एकातिर देखाइएको छ भने ‘नेपो बेबी’हरुको जीवनशैली विलासी बनेको देख्दा उनीहरू भन्छन्, ‘हाम्रो रगत–पसिनाले उनीहरूका महल ठडिएका छन्, हाम्रो भविष्य खोसेर उनीहरू आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्दैछन् ।’ यो पीडाले नै ‘नेताका छोराछोरीको जीवन लक्जरी बनाउन दु:ख गरिरहेका छौं’ भन्ने व्यंग्य गरेका हुन् ।

‘नेपो बेबी’हरुका लागि योग्यताको कुनै अर्थ छैन । उनीहरूले आफ्ना बाबु–आमाको पहुँच र शक्ति प्रयोग गरेर सजिलै ठुला पद, राम्रा अवसर र महँगा विदेशी विश्वविद्यालयमा स्थान पाउँछन् । जबकि सामान्य परिवारका मेधावी विद्यार्थीले उचित अवसर पाउन नसकेर भौतारिनुपरेको कुरा रेडिटमा केही युजरहरुले लेखिरहेका छन् ।

युवाहरुको सामाजिक सञ्जालको पोष्टहरु हेर्ने हो भने नेपालको सरकारी संयन्त्र ढिलासुस्ती, अनावश्यक प्रक्रिया र भ्रष्टाचारका कारण मनमा आगो दन्किरहेको छ । रेडिक्टको दी फ्रस्टेट ग्रुपमा लेखेका प्राइम ब्वाइले भनेका छन्, ‘नेपालमा स्टार्टअपहरूलाई प्रोत्साहन गर्नुको सट्टा, विभिन्न बहानामा सरकारी नियमन र झन्झटले उनीहरूलाई निरुत्साहित गर्छ । यो अवस्थाले पनि युवाको आक्रोशलाई बल पुर्‍याएको छ ।’

जाग्दैछन् देशभरिका युवा

इटहरीकी अर्चना अधिकारी भन्छिन्, ‘धेरै क्याम्पियन काठमाडौं भ्यालीमा हुने गरेको थियो । तर यसले अहिले देशैभरका युवाहरुलाई तरंगित बनाएको छ ।’ अधिकारीले वर्ड स्पिक च्यानल र आफ्नै आईडीबाट पनि सामाजिक र राजनीतिक मुद्दाहरुमा आवाज उठाउँदै आएकी छिन् ।

‘युवा मुद्दा सामाजिक सञ्जाल चलाइरहेका हरेक युवाहरुले फिल गरेका छन् । त्यसकारण यो सबैतिर हुन्छ, हामी पनि गर्दैछौँ,’ उनी भन्छन्, ‘जनतामा फ्रस्टेसन लेभल कति छ थाहा छ ? अब जहाँ पनि यो सुरु हुन्छ ।’

प्रोफाइलमा स्वतन्त्र पत्रकार र सार्वजनिक वक्ताको परिचय दिएकी ममता भण्डारी लिङ्क्डइनमा लेख्छिन् ‘आवाज दबाइएका बेला हामी उठ्नैपर्छ । म भोलिको विरोध प्रदर्शनको समर्थनमा छु, किनभने यो सामाजिक सञ्जालको कुरा मात्र होइन । यो वाक् स्वतन्त्रता, जीविकोपार्जन र परिवार तथा विदेशमा रहेका आफन्तजनबिचको सम्बन्धको विषय हो । सरकारले फेसबुक, ह्वाट्सएप र मेसेन्जरजस्ता प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णयले लाखौं नेपालीलाई उनीहरूको परिवारबाट विच्छेद गर्छ र हाम्रो स्वतन्त्र रूपमा सञ्चार गर्ने अधिकारलाई खतरामा पार्छ । हाम्रा अधिकार, हाम्रा आवाज र हाम्रा सम्बन्धका लागि सँगै उठौं ।’

दीपेश राई टिकटकमा ‘द विनर टेक्स इट अल’ गीतको साथमा नेताका छोराछोरीको भव्य पार्टी र आफ्नो परिवारको साधारण जीवनको क्लिप जोड्दै भन्छन्, ‘यो हो हाम्रो देशको लोकतन्त्र ! जहाँ ’विनर’ हरुको पार्टी कहिल्यै सकिँदैन, अनि लुजरहरुले सधैँ रगत पसिना बगाउनुपर्छ । अब यो नाटक धेरै भयो । हाम्रो करले बनेका महलहरू भत्काउन युवा जाग्दैछन् ।’

नवलपरासीकी समीक्षा थापा नामक प्रयोगकर्ताले इन्स्टाग्राम स्टोरीमा एक विलासी घर र विद्यालय जान संघर्ष गरिरहेका बालबालिकाको फोटो कोलाज पोस्ट गर्दै लेखेकी छिन्, ‘नेपो बेबीहरूले आफ्ना बाबु–आमाको नाममा करोडौं उडाउँछन्, अनि हाम्रो देशका हजारौं बालबालिका किताब किन्न नसकेर विद्यालय जान पाउँदैनन् । यो अन्याय कहिलेसम्म ? आँखा खोल् सरकार, तिम्रो नियति नजिकै छ ।’

अभय श्रेष्ठ एक्समा लेख्छन्, ‘सरकार भन्छ– देशमा विकास हुँदैछ । तर कुन विकास ? नेताका सन्तानको जीवनस्तरको विकास ? हाम्रो त भविष्य नै अन्धकार छ । बेरोजगारीको दलदल, भ्रष्टाचारको चक्रव्यूह र अहिले आवाज दबाउने प्रयास । यो युवापुस्ता अब सडकमा उत्रिन बाध्य भइसकेको छ ।’

कल्पना बस्नेतले फेसबुकमा लेखेकी छिन्, ‘मैले फेसबुकबाट सानो व्यापार चलाएर घर खर्च धानिरहेकी थिएँ । अब सरकारले सामाजिक सञ्जाल बन्द गरिदियो । के यो देशमा सानो मान्छेले आफ्नो गुजारा चलाउन पनि नपाउने ? नेताका छोराछोरीलाई केही फरक पर्दैन होला, तर हाम्रो त जीवन यहीँ अडेको थियो ।’

फ्रिडम स्काईले रेडिक्टमा लेखेका छन्, ‘मलाई थाहा छ, नेपो बेबी एउटा शब्द मात्र हो । तर यसले हाम्रो देशको यथार्थलाई छर्लङ्ग पार्छ । क्षमताभन्दा नाता, योग्यताभन्दा पहुँच । यो देश हामीजस्ता सामान्य युवाका लागि होइन रहेछ भन्ने महसुस भइरहेको छ । तर हार मान्ने छैनौं । सडकमा भेटौं ।’

इन्जिनियर प्रमिला अधिकारीले लिङ्क्डइनमा लेखेकी छिन्, ‘एक दक्ष इन्जिनियर भएर पनि नेपालमा रोजगारी नपाउँदाको पीडा कति भयानक हुन्छ, त्यो नेपो बेबीहरुलाई के थाहा ? उनीहरू त जन्मजातै पद र प्रतिष्ठाको सिँढी चढेर आउँछन् । तर हामीले पढेको ज्ञान र हासिल गरेको सीपको कुनै कदर हुँदैन । यो देशले हाम्रो सम्भावनालाई गुम्साएको छ ।’

विपना लम्सालले इन्स्टाग्राम पोस्ट गरेका छन्, ‘जब आशाका सबै किरणहरू निभ्छन्, तब आक्रोशको आगो सल्किन्छ । हामीले धेरै सह्यौं । अब द विनर टेक्स इट अलको विजेता को हो, त्यो इतिहासले लेख्नेछ । यो देशका युवाहरूले आफ्नो भाग्य आफैं लेख्न निस्कँदैछन् ।’

सञ्जालबाट सडकमा

सामाजिक सञ्जालमा व्यक्त यी आक्रोशहरू अब डिजिटल पर्दाबाट बाहिर निस्केर सडकमा पोखिने तयारीमा छन् । युवाहरुले भोलि काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् । यस्तै देशका विभिन्न सहरका चोकहरुमा प्रदर्शन गर्ने तयारी रहेको सामाजिक सञ्जालहरुमा पोस्ट भइरहेका छन् ।

ठुला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेन जी पुस्ताको सक्रियतामा प्रदर्शन हुन लागेको हो । देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने उनीहरुको माग हो । नेताका छोराछोरीको विलासी जीवनशैली देखाएर युवाले केवल व्यंग्य गरिरहेका छैनन्, सत्तामा बसेकाहरूलाई अब खेलको नियम परिवर्तन हुँदैछ भन्ने सन्देश पनि दिँदैछन् ।

‘राज्यले अपेक्षा पूरा नगर्दाको विचलन’

समाजशास्त्री एवं प्राध्यापक डा. टीकाराम गौतम जेन जी पुस्ताको आन्दोलनको तयारीलाई ‘सामाजिक विचलन’को रूपमा व्याख्या गर्छन् । उनले राज्यबाट नागरिकले अपेक्षा गर्ने सेवा र सुविधाबिचको खाडल बढेको अवस्थामा यस्ता प्रदर्शनहरू ‘नैराश्यता र आक्रोश’को प्रस्फुटन भएको बताए ।

डा. गौतमका अनुसार यो विचलन व्यक्तिगत नभई सामूहिक हो, धेरै व्यक्तिको मनमा अव्यक्त नैराश्यता र आक्रोशको एकीकृत अभिव्यक्ति हो । ‘राज्यले, कानुनले, सामाजिक मूल्य मान्यताले निर्देशित गर्ने भन्दा फरक खालको व्यवहार जुन हुन्छ, त्यो चाहिँ एक खालको सामाजिक विचलन हो,’ उनी भन्छन् । यो विचलन व्यक्तिगत नभएर सामूहिक हुने उनी बताउँछन् ।

सरकार वा संरचनाले प्रदान गर्ने सेवा सुविधा र जनताको अपेक्षाबिच दूरी बढ्दै जाँदा यस्ता समूह प्रदर्शनमा उत्रिने गर्छन् । ‘कहिले युवा, कहिले किसान, कहिले व्यापारी, कहिले डाक्टर वा इन्जिनियरको रूपमा यी आक्रोशहरू समय–समयमा सतहमा आउने गरेका छन् ।’

इन्डोनेसिया, बंगलादेश र श्रीलंकामा देखिएको आन्दोलन हिंसात्मक रूपमा परिणत भई सरकारहरू नै अस्थिर बनेको अवस्था नेपालमा पनि आउन सक्ने सम्भावनाबारे प्रश्न गर्दा डा. गौतम नेपालमा तत्काल त्यस्तो ठुलो खतरा नदेखिएको बताउँछन् । उनका अनुसार नेपाल संक्रमणकालीन अवस्थामा रहेकाले पुराना नियमन प्रक्रियाले काम नगर्ने र नयाँ व्यवस्था पूर्ण रूपमा स्थापित नहुने हुँदा असन्तुष्टि बाहिर आउनु स्वाभाविक भए पनि समग्र राज्य व्यवस्थालाई नै बदल्ने गरी संगठित आन्दोलनको अवस्था नभएको उनी बताउँछन् ।

‘नेपालमा अहिले देखिएका प्रदर्शनहरूमा आम मानिसले राज्य व्यवस्थालाई पूर्ण रूपमा त्याग्ने वा ठूलो क्षति पुर्‍याउने भन्दा पनि ‘सुध्रिनलाई वा ठीक गर्नलाई’ दबाब दिइरहेको पाइन्छ,’ डा. गौतम भन्छन् ।यस्ता समूहहरू सरकार वा संरचना ‘सच्चिने’ दिशामा जानुपर्छ भन्ने अपेक्षा राख्ने हुँदा प्रदर्शनले परिवर्तनको ढोका खोल्न सक्छ, तर हिंसा वा राज्य व्यवस्थाको अस्थिरताको जोखिम भने कम छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij