Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मिथिलाञ्चलमा पितृ तर्पण, भोलिदेखि पितृ पक्ष

मिथिलाञ्चलमा पितृ तर्पण, भोलिदेखि पितृ पक्ष

 जनकपुरधाम : भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलभर दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ । विशेषगरी धार्मिक एवं सांस्कृतिक नगर जनकपुरधामस्थित गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य भिड देखिएको छ ।

काँक्रो, अक्षता र फूलमाला बोकेर आएका श्रद्धालुहरूले पोखरीमा स्नान गरी आफ्नो कुल, गोत्र र पितृको नाम स्मरण गर्दै जल अर्पण गरेका थिए । चामल, तिल र काँक्रो अर्पण गरी आफ्ना पुर्खालाई सम्झिने यो दिनले धार्मिक महत्त्व बोकेको छ ।

यस दिन गरिने तर्पणले पितृ आत्मा प्रशन्न भई परिवारमा सुख–शान्ति स्थापित हुन्छ र पितृ दोष लाग्दैन भन्ने धार्मिक मान्यता छ । जनकपुरधामका पण्डित राधाकान्त झाका अनुसार भाद्र पूर्णिमामा विशेषगरी अगस्त मुनिलाई तर्पण गर्ने धार्मिक परम्परा छ ।

अगस्त मुनि पितृहरूको अग्रज मानिने उनले बताए । यही दिनपछि आश्विन कृष्ण पक्ष प्रतिपदादेखि १६ दिन लामो पितृ पक्ष अर्थात् पार्वण पर्व सुरु हुन्छ । आजको दिन जनकपुरधाम मात्र नभई धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सालगायत जिल्लाका नदी, ताल र पोखरीहरूमा समेत तर्पण गरिएको छ ।

महोत्तरीको बरुणसर पोखरी, सिरहाको कमला नदी, सप्तरीको कमलदह र बागमती नदी किनारमा श्रद्धालुहरूको भिड लागेको थियो । गाउँघरमा पनि परिवारका सदस्यले नजिकैको पोखरी वा नदीमा स्नान गरी सामूहिक पूजा गर्ने परम्परा छ ।

पण्डित मुकेश झाका अनुसार पितृ तर्पणसँगै दान दक्षिणाको पनि विशेष महत्त्व हुन्छ । आज धेरै श्रद्धालुहरूले अन्न, फलफूल, दक्षिणा दान गरेका छन् भने कतिपय परिवारले गरिब र विपन्नलाई भोजन वितरण गरेका छन् । धार्मिक विश्वासअनुसार यसरी गरिएका दानले पितृ आत्मा प्रशन्न हुन्छ ।

भोलिदेखि सुरु हुने पितृ पक्ष (पार्वण पर्व) आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावस्यासम्म चल्नेछ । यस अवधिमा दिवंगत पितृलाई सम्झेर तिथिअनुसार श्राद्ध, पिण्डदान र तर्पण गर्ने परम्परा छ । धर्मशास्त्रअनुसार पितृ पक्षलाई पितृ ऋण तिर्ने उत्तम अवसर मानिन्छ । पितृलाई सम्झेर श्राद्ध गर्ने परिवारमा सन्तान वृद्धि, सुख–समृद्धि हुन्छ भन्ने जनविश्वास छ ।

जनकपुरधामको गंगासागरलाई पितृ तर्पणका लागि पवित्र स्थल मानिन्छ । जनश्रुतिअनुसार त्रेतायुगमा भगवान राम, सीता र ऋषि–मुनिहरूले यही पोखरीमा स्नान गरी पितृलाई तर्पण गरेका थिए । यही कारण यहाँ भाद्र पूर्णिमा र पितृ पक्षमा विशेष चहलपहल हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij