Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला : यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो ।

स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले जानकारी दिए । ‘बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ’, स्याउ किसान पाण्डेले भने, ‘घरमै प्रतिकिलो रु ६५ मा बिक्री सुरु गरेका छौँ, गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगन्ज लैजाने गरेका छन् ।’

करिब १०० बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले फल दिएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत कम फलेको स्याउ किसान पाण्डेको भनाइ छ । हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी प्रकाश रोकायाका अनुसार अहिले स्याउ किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ । पालिकाभित्रका करिब ६०० कार्टुन स्याउ खरिद गरेको बताए ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलन गर्न जुम्ला र कालिकोटको सिमानमा रहेको नाग्म प्रहरी चौकीलाई तथ्याङ्क सङ्कलन गर्ने जिम्मा दिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

गत वर्षभन्दा यसवर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने भएको छ । यहाँका स्याउ किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

विशेष गरी सडक सञ्जालसँग जोडिएका बगैँचाकाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्री गर्न लगिसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ । जुम्लामा चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा दुई हजार ९०० हेक्टर क्षेत्रफलमा करिब यस वर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

स्याउ निर्यातबाट जिल्लामा झन्डै रु ४५ करोड बढी आम्दानी हुन आकलन छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

स्याउको बजार प्रवर्द्धनका लागि यहाँका कृषि समूह, सहकारीलाई १२ हजार ‘जुम्ला एप्पल’ लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी पदमराज कार्कीको भनाइ छ । यहाँका करिब १८ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको परियोजनाले जनाएको छ ।

तरकारी खेतीबाट स्वरोजगार बन्दै जुम्लाका महिला

पछिल्लो समयमा तरकारी खेतीबाट यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । यहाँको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

केही वर्ष अगाडि तरकारी खेतीमा कुनै रुचि नराखेका यहाँका महिला अहिले विभिन्न प्रकारका सीपमूलक तालिमदेखि तरकारी खेती लगाउने प्राविधिकको ज्ञान प्राप्त भएपछि यहाँका महिला तरकारी खेतीतर्फ आकर्षित भएको स्थानीयवासी शोभा बस्नेतको भनाइ छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएदेखि गाउँका महिलाको आयआर्जनमा सुधार ल्याएको छ ।

स्थानीयवासी बस्नेतले भनिन्, ‘गाउँमै जलवायु मैत्री कृषक पाठशाला स्थापना गरी तरकारी खेती गरेर गाउँकै महिला आत्मनिर्भर बनेका छन्, कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारी खेती गरेर गत आवमा रु एक लाख आम्दानी लिएका थियौँ ।’

तरकारी खेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएको उनले बताइन् । यसले आर्थिक समस्या टार्न सहयोग मिलेको उनी बताउँछिन् । अहिले विशेष गरी उत्पादन गरेको गोलभेँडा पालिकाको रारासेरी बजार, नाग्म र सदरमुकाम खलङ्गा बजारसम्म पुग्ने गरेको छ । अहिले गाउँमै गोलभेँडा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ । खनजोत लगायतमा प्रयोग हुने हाते ट्र्याक्टर परियोजनाबाट पाएपछि काम गर्न सहज भएको उक्त गाउँका स्थानीय लक्ष्मी रावतको भनाइ छ ।

जलवायु मैत्री कृषि प्रविधिबाट गड्यौला मल, गर्मी बास, छापो विधि, झोल मल, प्लास्टिक हाउस, पानी पोखरी, कम्पोस्ट मल र बायोचारको प्रयोग गरेर तरकारी खेतीबारे परियोजनाले यहाँका कृषि समूहलाई तालिमदेखि प्राविधिक सीपमूलक तालिम दिएको किर्डाक जुम्लाका मूल्यांकन तथा अनुगमन अधिकृत ललित डाँगीले बताए ।

तरकारी खेतीलाई प्राथमिकता दिएका गाउँका कृषकलाई यातायातको राम्रो सुविधा नहुँदा समस्या भएको छ । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको यहाँका स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij