Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मकै थन्क्याउनमै व्यस्त भाछन् बैतडीका किसानहरू

मकै थन्क्याउनमै व्यस्त भाछन् बैतडीका किसानहरू

बैतडी :  भदौको अन्तिमसाता भएसँगै बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो भएको छ । बिहानैदेखि खेतबारीमा मकै टिप्ने, डोको नाम्लो  बोकेर किसानहरु घरका आँगनमा ल्याउने, दाना छुट्याउने र घरघरमा मकैको टव्वा (लुटा) झुन्ड्याउने कामले गाउँको वातावरणनै सोभायमान बनेको छ ।

खेतभरि पाकेको र पकक्दै गरेको मकै वर्षाले भित्र्याउन नदिने हो कि भन्ने पिर परेको सूर्नया ४ का किसान गणेश महराले बताउनुभयो । मौसमले साथ दिइरहेकाले बैतडीका किसानहरु पनि पाकेको मकै भाँचेर टव्वा (लुटा) बनाउन थालेका छन् ।

दोगडाकेदार ०७ का शैदेव भट्टले भन्नुभयो अहिले बैतडीका खेतहरुमा  मकै भाच्ने र सुकाउने  काममा किसानहरु व्यस्त हुनुहुन्छ । बैतडीमा मकै बाली भित्र्याउने क्रम असोज दोस्रो सातासम्म रहन्छ । समयमै पानी परेको र समयमै मकै लगाएकाले मकै उत्पादन राम्रो भएको सूर्नया २ का किसान धन बहादुर बिष्टले  बताउनुभयो ।

मेलौली नगरपालिका–५ का किसान नरबहादुर चन्द भन्नुहुन्छ, ‘‘मकै हाम्रो दैनिक जीवनसँगै जोडिएको मुख्य आधार हो । बिहान बेलुकीको खानेकुरा, पशुपालन र खर्च धान्नेटत्र पनि यही खेति हो । मकै थन्क्याउने काम केवल कृषिकर्म नभई गाउँको संस्कृतिसँग पनि जोडिएको छ ।’’ महिलाले गीत गाउँदै दाना छुट्याउने, युवाले सामूहिक श्रम बाँड्ने र घरघरमा सजाइएका मकैका लहराले बस्तीलाई आकर्षक बनाउँछ उहाँले भने ।

तर, पछिल्ला वर्षमा बारीमा पाकेका मकै जोगाउन किसानलाई जंगली जनावरसँग संघर्ष गर्नुपर्ने अवस्था बढेको छ । दशरथचन्द नगरपालिका–२ का  धन बहादुर थापा भन्नुहुन्छ, ‘‘बाँदर र बँदेल धपाउन दिनरात ड्युटी गर्नुपर्छ । मेहनत गरेर उब्जाएको मकै जोगाउनै सकिँदैन ।’’

नेपालमा खेती गरिँदै आएका बालीहरुमध्ये दोस्रो प्रमुख बालीको रुपम मकै बाली पर्ने गरेको हो । जिल्लाको  सबैजसो ठाँउमा ठाँउहरुमा बर्सेनि मकैखेति गरिदै आएको छ । गत वर्षभन्दा यस वर्ष  मकै उत्पादनमा वृद्धि हुने  अनुमान रहेको कृषि ज्ञानकेन्द्र, बैतडीका सूचना अधिकारी महेस पाण्डेले बताउनुभयो ।

बैतडीमा मकै बालीलाई आवश्यक पर्ने हावा, पानी र माटो सुहाउँदो भएकैले मकैबाली फस्टाउँदै गएको छ । ग्रामीण जीवनशैलीसँगै गाँसिएको मकै बैतडीका किसानको संस्कार र श्रमको पहिचान बनेको छ । युवाशक्ति बाहिरिने, बजारमा आयातित अन्न सजिलै पाइने र प्राकृतिक विपतको चुनौतीका बिच पनि किसान वर्षेनी भदौ–असोजमा मकै थन्क्याउने चटारोमा व्यस्त हुन्छन् ।

यस वर्ष वर्षातका कारण उत्पादन केही असर भए पनि किसानले समयमै मकै लगाउन पाएकाले प्रतिफल राम्रो आएको कृषि ज्ञान केन्द्र, बैतडीका प्रमुख हरि दत्त जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मकै बैतडीको प्रमुख खाद्यान्न हो । वन्यजन्तु नियन्त्रण र भण्डारण प्रविधि सुधार गर्न सके किसान अझै लाभान्वित हुन्छन् ।’’

मकैखेती अन्य बालीको तुलनामा बढि उत्पादन हुने भएकाले पनि कृषकहरुको आकर्षक बालीका रुपमा मकैखेती पर्दै गएको बैतडीमा १३ हजार बढि हेक्टर जमिनमा मकै खेति गरिँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij