सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको गगनेखोला नजिक पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि निरन्तर प्रयत्न भइरहेको बताएका छन्।
सडकमा खसेका ठुला ढुङ्गा पन्छाउन नेपाली सेनाको टोलीले बम विस्फोटकमार्फत ढुङ्गा फुटाउने काम सुरु गरेको उनको भनाइ छ।
मुख्यमन्त्री कँडेलका अनुसार, हिजोदेखि नै सेनाले ढुङ्गा फुटाएर अवरोध हटाउने कार्य गरिरहेको छ।
अलपत्र परेका यात्रुको सहज यातायात तथा स्याउलगायतका सामग्री ढुवानीमा भइरहेको कठिनाइप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए।
सडक छिटो सञ्चालनमा ल्याउनका लागि आवश्यक सहयोग र सहजीकरणका लागि आफू कालीकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र नेपाली सेनासहितका सुरक्षा निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनको भनाइ छ।
सडक अवरुद्ध हुँदा करिब १३ करोड बराबरको १८४ मेट्रिक टन स्याउ बाटोमा रोकिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij