काठमाडौँ : आफूले गरेको कामले प्रशंसा पाउँदा खुसी नहुने को होला र ? हिजोआज अभिनेत्री सुरक्षा पन्त पनि प्रशंसाका शब्दहरूले पुलकित छिन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘कोसेढुंगा’ अहिले सिनेमा हलहरूमा चलिरहेको छ । फिल्मबाट उनले दर्शकहरूको राम्रो ‘रिभ्यु’ पाइरहेकी छिन्, जसले उनको खुसीको ग्राफ बढाइरहेको छ । ‘फिल्मको राम्रो रिभ्यु देख्दा खुसी लागेको छ । केही पहिलेसम्म त लेख्ने चलन हराएको थियो,’ सुरक्षा भन्छिन्, ‘धेरैले म्यासेज, मेल र फोनबाट राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’
‘नत्र भने जिन्दगी’ फिल्ममा समेटिएको छ यो गीत । फिल्ममा तिजको माहौलका लागि राखिएको यो गीतले पनि दर्शक-श्रोतालाई लट्ठ्याएको छ । यो गीत पनि फिल्मको ‘हाइप’ बनाउने एक कारण बन्यो ।‘धेरैले मलाई यसै गीतका कारण चिन्नुभएको छ । एक्सपोजर बढेको छ । गीतलाई रुचाउनुभएको छ, जहाँ पुग्दा पनि गुञ्जिएको देख्दा खुसी लाग्दो रहेछ,’ सुरक्षा सुनाउँछिन् । सुरक्षा पाँच महिनापछि ठुलो पर्दामा आएकी हुन् । गत वैशाखमा उनी अभिनीत फिल्म ‘खेल’ प्रदर्शनमा आएको थियो । तर उक्त फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेन ।
‘ग्यापपछि फिल्म आउँदा दर्शकले ‘फ्रेस’ महसुस गर्छन्,’ सुरक्षा भन्छिन्, ‘दर्शकहरूले मिस गरिरहेका हुन्छन् नि त । आफूलाई पनि ग्रोथ भएको जस्तो लाग्छ ।’अलि लामो ‘ग्याप’ हुनुको कारणमा सुरक्षा एकै प्रकारको भूमिकाको अफर आउनुलाई मान्छिन् । एकपछि अर्को उही खालको चरित्र निभाउँदा ‘भेरिएसन’ दिन नसकिने उनको तर्क छ । ‘अलि ब्रेक लिएर गर्यो भने मैले क्यारेक्टरका ग्राफहरू देख्न थाल्छु,’ उनी भन्छिन्, ‘यो फिल्ममा आफ्नो पर्फमेन्स अझै डिटेलमा गर्ने कोसिस गरेको छु ।’

‘कोसेढुंगा’मा गाउँको एउटा सामान्य युवती ‘शीतल’को भूमिकामा छिन् सुरक्षा । ‘गाउँमा हिरो भएर बसेकी केटी सिस्टमसँग ठोक्किँदा कसरी जिरो हुन्छे भन्ने भाइबमा छ क्यारेक्टर,’ उनी भन्छिन्, ‘मैले आफूले त्यसरी नै प्ले गर्ने हो पात्रलाई ।’ गाउँमा एउटी केटीले अहिले पनि सङ्घर्ष गर्नुपर्ने वास्तविक कथा फिल्ममा चित्रण गरिएको उनी बताउँछिन् ।
‘गाउँमा ऊ त आफू हाइफाइ भएरै बसेकी हो नि त । बाबुआमा थर्काएर । केटालाई थर्काएर,’ सुरक्षा भन्छिन्, ‘तर पछि उसको लाइफमा बज्रपात परेपछि कसरी चेन्ज हुन्छ भन्ने खालको ग्राफ मेरो क्यारेक्टरमा छ ।’ ‘कोसेढुंगा’मा सुरक्षालाई अभिनय गर्न मन लाग्नुको कारण कथाले छोएकाले हो ।
‘सबैको मनलाई छुन्छ यस्ता कथाहरू । यो फ्याक्ट पनि हो, भइराखेकै कुराहरू हुन्,’ उनी भन्छिन् । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन्, जसको अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबस्टर भएको थियो ।

निर्देशक पौडेलका लागि पनि यो फिल्म विशेष भएको सुरक्षा बताउँछिन् । ‘पूर्णबहादुरको सारङ्गी’ले अनएक्सपेक्टेड व्यवसाय गर्यो,’ उनी भन्छिन्, ‘दाइलाई पनि प्रेसर हुन्छ नि । उहाँका लागि पनि फिल्म चल्नुपर्ने नै थियो ।’
फिल्ममा थुप्रै कलाकार छन् । तर रिलिज अगाडि प्रचारमा सुरक्षा मात्रै छाएकी थिइन् । ‘गीत चलेर हो, के गर्नु,’ हाँस्दै उनी भन्छिन्, ‘हिँड्ने मामलामा पनि अरू कलाकार भन्दा म नै बढी हिडेँ ।’ अन्य कलाकारहरूको व्यस्तताका कारण पनि आफू बढी देखिएको उनी बताउँछिन् ।
सुरक्षाका हरेक फिल्म आउँदा उनको भूमिकाको चर्चा हुन्छ । ‘मैले व्यक्तिगत रूपमा छनोट गर्ने हो, आफूलाई मन परेको स्टोरीमा काम गर्छु,’ सुरक्षा भन्छिन्, ‘कहिले कुन स्टोरी गर्न मन लाग्छ, कहिले कुन । यसअघि निर्वाह गरेका केही फिल्मका पात्रको चर्चा राम्रो भए पनि व्यावसायिक रूपमा सफल हुन नसक्दा खिन्नता महसुस भएको छ ।’
सुरक्षालाई फिल्मले पैसा कमाउन सकेन भन्ने चिन्ता चाहिँ हुन्छ, तर मुख्य कुरा हुँदैन । फिल्ममा अभिनय गर्दा मजा लिन्छिन् र अर्को फिल्ममा कसरी अझै राम्रो गर्ने भन्ने सोच्छिन् ।
‘म अभिनयमा इन्जोय गर्छु । अब यो फिल्म गरेँ, मलाई मजा आयो । अबको कसरी झनै बेटर गर्ने भन्नेमा दिमागमा रहन्छ,’ उनी भन्छिन् । उनलाई अब कमेडी जनराको फिल्म गर्ने इच्छा छ ।

सुरक्षालाई अभिनय बाहेक केमा रुचि होला ?
उनका समकक्षी अभिनेत्रीहरू केकी अधिकारी, नीता ढुंगाना लगायतले फिल्म निर्माणमा कदम चालिसकेका छन् । उनको भने फिल्म निर्माणमा रुचि छैन । बरु उनी निर्देशनमा रुचि राख्छिन् ।
‘मेरो सोच निर्देशन गर्नेछ । यो सोचलाई पूरा गर्न प्रोड्युसर्सहरू चाहिन्छ,’ उनी भन्छिन् ।’
आफूसँग ‘इनर्जी’ मिल्ने मान्छे पाएमा ‘टिम अप’ गरेर फिल्म निर्देशन गर्ने उनको योजना छ । ‘मेरो श्रीमान् पनि निर्देशनमै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो सानो कम्पनी टिम पनि छ । अहिले बाहिरको म्युजिक भिडियोहरू गरिरहेका हुन्छौँ । केही समयपछि निर्देशनमा देखिए भने अचम्म नमान्दा हुन्छ ।’
सुरक्षा केही समयअघि एउटा विवादमा तानिइन् । पूर्वराजपरिवारका सदस्यको विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनीविरुद्ध गालीको वर्षा भयो । सोही समयमा रिलिज भएको उनको फिल्म ‘खेल’लाई केहीले बहिष्कार गर्ने ट्रेन्ड समेत चलाए ।
तर यस्तो कुराले आफूलाई फरक नपार्ने सुरक्षा बताउँछिन् । ‘विवादको समय पनि मलाई केही महसुस भएको थिएन । यो लाइफ हो । सबैको आ–आफ्नो विचार, ओपिनियनहरू भइहाल्छ,’ उनी भन्छिन्, ‘त्यतिबेला म ‘चमेलीको पोइ’ फिल्मको सुटिङमा व्यस्त भएकाले सोसल मिडियामा के भयो भन्ने कुराले खासै फरक परेन । पर्दैन पनि ।‘
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij