मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पहलमा कैलाश गाउँपालिकाका एक चेपाङ परिवारको घर बन्ने भएको छ ।मुख्यमन्त्री नियुक्त भएलगत्तै आफ्नो निर्वाचन क्षेत्रको एक विपन्न परिवारको घर बनाउने घोषणा गरेका बानियाँले हालसम्म ३ वटा परिवारको लागि घर बनाउन सम्झौता गरिसकेका छन् ।सोमबार मात्र मुख्यमन्त्री बानियाँले विकट कैलाश गाउँपालिका–४, धुस्राङका लालकुमार प्रजा चेपाङको जीर्ण घर बनाउन पेस्की बागत रकम हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधा बापतको खर्चबाट सुरक्षित आवास निर्माणका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।५० वर्षीय लालकुमार लामो समयदेखि असुरक्षित र जीर्ण घरमा बस्दै आएका थिए । २०३२ सालमा जन्मिएका उनका सन्तान छैनन् ।
श्रीमती सानुमाया चेपाङको पनि सानै उमेरमा हात जलेका कारण अपाङ्गता छ । लालकुमार २ कट्ठा नम्बरी र करिब ३–४ कट्ठा ऐलानी जग्गामा कृषि र बाख्रा–कुखुरापालन गरेर जीविकोपार्जन गर्दै आएको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए ।
उनका अनुसार आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले जीर्ण घर मर्मत गर्न नसक्दा उनीहरू जोखिम मोलेरै बस्न बाध्य थिए । उक्त अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले उनको सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
‘गाउँपालिकाभित्र सीमान्तकृत समुदाय र अति विपन्न परिवार धेरै छन्, तीमध्ये पनि लालकुमारको अवस्था निकै दयनीय देखियो । सन्तान पनि नभएको, खरको छानो र काठपातले मात्र बेरिएको जीर्ण घरमा बसिरहेकोले हामीले सिफारिस गर्यौँ,’ उनले भने ।यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिंह प्रजाको घर निर्माणका लागि सहयोग गरिसकेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij