Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दाँतको उपचारमा सुपर ग्लु प्रयोग गरेको आरोपमा महिला पक्राउ

दाँतको उपचारमा सुपर ग्लु प्रयोग गरेको आरोपमा महिला पक्राउ

फ्लोरिडा : फ्लोरिडा राज्यकी ३५ वर्षीय इमेलि मार्टिनेजलाई अनधिकृत दन्त उपचार गरेर विरामीको स्वास्थ्य बिगारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।मार्टिनेजले सामाजिक सञ्जालमार्फत आफूलाई 'स्माइल मेकओभर एक्सपर्ट' भनेर प्रस्तुत गर्दै अत्यन्तै सस्तो मूल्यमा भिनियर उपचार गर्ने प्रलोभन दिएर ग्राहकहरूलाई आकर्षित गर्ने गर्थिन् । सामान्यतया एक दाँतमा भिनियर गर्न ९०० देखि १,५०० अमेरिकी डलरसम्म लाग्ने भए पनि उनले २,५०० डलरमै पुरै मुखमा भिनियर गर्ने प्रस्ताव दिएकी थिइन् ।

तर, मार्टिनेजले पिनेलस पार्कस्थित आफ्नै पसलमा कुनै औपचारिक तालिम वा अनुमति बिना काम गर्दै दाँतमा बजारमा पाइने 'क्रेजी ग्लु' जस्तो सुपर ग्लु प्रयोग गर्ने गरेको तथ्य फेला परेको हो। यस कारण उनका ग्राहकहरू गम्भीर संक्रमण र असह्य पीडामा परेका थिए ।

दुई जना पीडितले गुनासो दर्ता गरेपछि घटनाबारे अनुसन्धान हुँदै उनको ठगीको पर्दाफास भएको हो । एक पीडितलाई त आपतकालीन शल्यक्रिया गरेर मात्र क्षति मर्मत गर्न सकिएको थियो । मार्टिनेजले पैसा फिर्ता दिन अस्वीकार गर्ने मात्र नभई आफू निर्दोष भएको पनि दाबी गरेकी थिइन् ।

पिनेलस पार्क प्रहरी विभागका सर्जन्ट विन्डी भाटरले भने, 'उनी भिनियर लगाउने लाइसन्स प्राप्त व्यक्ति होइनन् । त्यसका लागि कुनै अध्ययन वा अनुमति छैन । फ्लोरिडामा यस्तो काम गर्न कानुनी लाइसन्स अनिवार्य छ ।'मार्टिनेजलाई यसअघि पनि यसै वर्षको मार्च महिनामा अर्कै काउन्टीमा अनधिकृत दन्त सेवा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई अहिले ठगी र लाइसन्सबिनाको दन्त उपचार गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।फ्लोरिडामा यसअघि पनि यस्ता घटना भइरहेका छन् । केही वर्षअघि १८ वर्षीय मलाची लभ-रोबिन्सनलाई वेस्ट पाम बीचमा नक्कली मेडिकल क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij