Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रासायनिक मल अभावमा पहेंलिँदै धान

रासायनिक मल अभावमा पहेंलिँदै धान

बर्दिया : गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन ।

उहाँको खेतमा धान पहेँलै छ । “यसपाली भात खान नपाइने भयो” उहाँले भन्नुभयो । सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्, उहाँले भन्नुभयो –“पहिले पर्याप्त मल आउँदा दिन्थे, अहिले हामीलाई मल दिँदैनन् ।”

सरकारले पठाउने अनुदानको मल सहकारीमार्फत बिक्री गर्ने सरकारको नीति छ । तर सहकारीको साधारण सदस्यले मल नपाई सर्वसाधारणले रासायनिक मल पाउँदैनन् । सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले ५ केजीसम्म युरिया बाँडेर लगेको उहाँको भनाइ छ ।

एक बिघा खेत हुने किसानले पाँच किलो मल लगेको गुलरिया नगरपालिका–३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी कंडेलले बताउनुभयो । सरकारले पठाउने मल पर्याप्त नहुँदा बर्दियामा यस वर्ष धान खेतीका लागि युरिया हाहाकार भएको छ ।

गत वर्ष सरकारको मल अपर्याप्त भए पनि कृषकहरूले भारतीय सिमावर्ती बजारबाट मल खरिद गरेर ल्याउने गरेका थिए । यसवर्ष भारतीय बजारमा समेत मल पाउन छाडेपछि किसानहरू मर्कामा परेका छन् ।

“पहिले भारतबाट अवैध रूपमा मल ल्याएर हाल्ने गरेका थियौँ” नाम उल्लेख नगर्ने शर्तमा एक किसानले भन्नुभयो, “यस वर्ष भारतीय बजारमा समेत मल पाइएन, त्यसैले पनि मल हाल्न पाइएन, धान रोप्दा थोरै डिएपी हालेको थिएँ, अहिले युरिया त हाल्नै पाएन ।”

मलको अभावमा किसानका खेतहरू पहेँला देखिन थालेका छन् । सिँचाइ अभाव खेप्दै आएका बर्दियाका किसान रासायनिक मलको अभाव पनि खेपिरहेका छन् । पर्याप्त रासायनिक मल नहुँदा यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले यस वर्ष रासायनिक मलको चरम अभाव भएको बताउनुभयो । रासायनिक मलको अभावले गर्दा धान उत्पादनमा कमी आउने अनुमान गरिए पनि कति घट्छ, यकिनका साथ भन्न नसकिने बताउनुभयो ।

बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकालका अनुसार बर्दियामा  वार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरियाको माग हुँदैआएको छ । जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदैआएको छ । गत वर्षसम्म किसानले भारतीय बजारबाट मल ल्याउने गरे पनि यस वर्ष भारतीय बजारमा मल पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij