नवलपुर : नवलपुरको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले स्वच्छता तथा हरियाली अभियान अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
गैंडाकोट नगरपालिका – १२, हर्कपुरमा रहेको सो होटलले पूर्व पश्चिम राजमार्गको डिभाइडर तथा सडक दायाँबायाँ रहेको घाँस, झाडी, बुट्यान काटेर सफा गर्नुका साथै सडकमा भएका प्लास्टिक तथा अन्य फोहोर टिपेर सडक सरसफाई गरेको छ।
हर्कपुरमा भर्खरै आफ्नो सेवा शुभारम्भ गरेको इला कम्फर्ट होटलले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रम गरेको होटलका महाप्रबन्धक प्रदीप न्यौपानेले बताउनुभएकाे छ।
स्थानीय समुदायसंग मिलेर अझै धेरै कार्य गर्ने आफूहरुको योजना रहेको महाप्रबन्धक न्यौपानेले बताउनुभएकाे छ। हर्कपुरमा सेवा शुभारम्भ गरेको इला कम्फर्ट इला ब्राण्डको तेस्रो आउटलेट रहेकाे छ।
यसअघि बाग्लुङ्गमा इला कम्फर्ट र गैंडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली संचालनमा आइसकेका छन् । नेपालको आफ्नै मौलिक ब्राण्ड इलाले देशका विभिन्न क्षेत्रमा पर्यटकीय साथै आतिथ्य सत्कार सम्बन्धि आयोजनाहरु संचालन गरी पर्यटकीय गन्तव्य र नेपाली परिकारहरुलाई प्रवर्धन गर्ने लक्ष्य राखेको इला होटल एण्ड रिसोर्टका सञ्चालक सचिन ढकालले बताउनुभएकाे छ।
हर्कपुर स्थित इला कम्फर्टमा ठूलो क्षेत्रफलमा वाटर पार्क रहेको छ भने आवासका लागि सुविधासम्पन्न ३५ वटा कोठाहरु रहेका छन् । नेपालकै सुप्रसिद्ध व्यापारिक घराना आइएमई समूह अन्तर्गतको इलाले अहिले आक्रामक रुपमा देशका विभिन्न स्थानमा आफ्नो आउटलेट थप्दैछ । पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेका नेपालका हरेक ठाउँ आफैंमा सुन्दर छन्, आन्तरिक तथा विशेष गरी विदेशी पर्यटकलाई यी ठाउँमा आकर्षित गरी राम्रो आतिथ्य सत्कार प्रदान गर्न सकिए यसले दूरगामी प्रभाव पार्ने र नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याउने सञ्चालक ढकालको भनाई रहेकाे छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij