Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

नेपालगन्ज : पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट मात्रै एक वर्षमा करिब ६ अर्ब रुपियाँको चामल आयात गरिएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज नाकाबाट पाँच अर्ब ९२ करोड २४ लाख रुपियाँ बराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव ०८०/८१ मा चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपियाँ बराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको जनाउँदै गत आवमा अघिल्लो आवको तुलनामा ३०.३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार रुपियाँ बढीको चामल आयात भएकोे बताउनुभयो  ।

उहाँले चामलको आयात वर्षेनी बढ्दै गएको पाईएको जनाउँदै जबसम्म आफ्नै देशमा उत्पादन वृद्धि गरिँदैन तबसम्म चामलको आयात यस्तै रहने बताउनुभयो ।

चामलका लागि मात्रै वर्षमा यो नाकाबाट ६ अर्ब रुपियाँ विदेश जानु स्थानीय अर्थतन्त्रका लागि निकै नराम्रो सङ्केत रहेको जनाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघले त्यसतर्फ सबै सम्बन्धित निकाय चनाखो हुनुपर्ने जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले धान उत्पादनका लागि सबैभन्दा राम्रो मानिने बाँके र बर्दिया जिल्लामा रहेको नाकामै वर्षमा ६ अर्ब रुपियाँ चामल आयातमा बाहिर जानु निकै दुःखद भएको बताउनुभयो ।

यसैगरी, सोही नाकाबाट गत आवमा दुई अर्ब १९ करोड ४४ लाख ८१ हजार मूल्य बराबरको  पाँच करोड १० लाख ८९ हजार २८१ किलोग्राम मकै आयात भएको छ । अघिल्लो आवमा दुई अर्ब चार करोड १८ लाख १५ हजार मूल्यको पाँच करोड २४ लाख ५५ हजार ३२० किलोग्राम मकै आयात भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार सोही प्रकारले गत आवमा १३ अर्ब ८१ करोड ८५ लाख ६३ हजार रुपियाँ बराबरको डिजेल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ५९ करोड ५८ लाख ९१ हजार रुपियाँ कम मूल्य बराबरको डिजेल आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो । अघिल्लो आवमा १४ अर्ब ४१ करोड ४४ लाख ५४ हजार रुपियाँबराबरको डिजेल आयात भएको थियो ।

खाना पकाउने एलपी ग्यास आयातमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा पाँच अर्ब ४१ करोड ९० लाख २० हजार मूल्य बराबरको चार करोड ९४ लाख ३० हजार ९६० किलोलिटर खाना पकाउने एलपी ग्यास आयात भएको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा चार अर्ब ६४ करोड ४२ लाख ६५ हजार मूल्य बराबरको चार करोड ५५ लाख २५ हजार ११० किलोग्राम एलपी ग्यास आयात भएको थियो ।

भारतबाट आयात हुने वस्तुमध्ये पेट्रोल चौथो नम्बरमा परेको छ । गत आवमा चार अर्ब ८२ करोड ३७ लाख आठ हजार मूल्यबराबरको ५५ हजार ४०८ किलोलिटर पेट्रोल आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij