काठमाडौँ : ‘डियर स.वि. जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ता–भित्तामा तिम्रो नाम होस् ।’काठमाडौँका सडकका पोलपोलमा आफ्नो क्षेत्राधिकार जनाउन सडक डिभिजन विभागले स.वि. लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यङ्ग्यात्मक रूपमा लेखेको स्टाटस हो यो । सडक विभागले भने अब यो कार्यलाई भक्तपुर र ललितपुरमा समेत विस्तार गर्ने भएको छ ।
शुक्रबार सडक विभागका महानिर्देशक समेतको उपस्थितिमा सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका सुपरिन्टेन्डेन्ट इन्जिनियरको अध्यक्षतामा बसेको विभिन्न पक्ष सम्मिलित समन्वय समितिको बैठकमा सडक डिभिजन भक्तपुर र ललितपुरले एक महिनाभित्र यस्तो लेखिसक्ने जनाएका हुन् । सडकमा आफ्नो कार्यक्षेत्र प्रस्ट्याउन यसो गर्न लागिएको विभागले जनाएको छ ।
अहिले सडक सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र पर्छ । सङ्घले गरेका कामलाई देखाएर स्थानीय तहले जस लिने गरेको भन्दै काठमाडौँले यसअघि क्षेत्राधिकार जनाउन यसो गरेको थियो । शुक्रबारको बैठकले काठमाडौँ उपत्यकाभित्रका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने, फुटपाथमा पैदल यात्रुका अवरोध हटाउने लगायतबारे निर्णय भएको विभागले जनाएको छ ।
उक्त बैठकमा सडक डिभिजन काठमाडौँ, सडक डिभिजन ललितपुर, सडक डिभिजन भक्तपुर, काठमाडौँ चक्रपथ सुधार योजना, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ उपत्यका विकास प्राधिकरण, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल टेलिकम, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतका समन्वय समितिका सदस्य उपस्थित थिए । साथै अर्को पटकदेखि बैठकदेखि समन्वय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij