Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

इलाका प्रहरी कार्यालयमा नवनिर्मित दुर्गा भगवती मन्दिरको उद्घाटन

इलाका प्रहरी कार्यालयमा नवनिर्मित दुर्गा भगवती मन्दिरको उद्घाटन

इलाका प्रहरी कार्यालय गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा नवनिर्मित दुर्गा भगवती मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नवनिर्मित दुर्गा भगवती मन्दिरको जिल्ला अदालत बागलुङका न्यायाधिस रमेशकान्त अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

मन्दिरको उद्घाटन पछि बोल्दै जिल्ला अदालत बागलुङका न्यायाधिस रमेशकान्त अधिकारीले मन्दिर निर्माणले सामाजिक, साँस्कृतिक तथा धार्मिक भावनाको संरक्षणमा ठूलो योगदान पुयाउने उल्लेख गर्नुभएको थियो । उहाँले धार्मिक स्थलले समाजलाई एकताको भावना जोगाउने मात्र नभई आस्था र विश्वासलाई मजबुत बनाउन पनि सहयोग गर्ने बताउनुभएको थियो ।

अधिकारीले प्रहरी कार्यालयमै मन्दिर निर्माण हुनु भनेको सुरक्षा निकाय र समाजबिचको सम्बन्धलाई अझ आत्मिय बनाउन खोजिएको महत्वपूर्ण पहल भएको बताउँदै धर्मले दिने नैतिक शक्ति र सुरक्षाकर्मीको प्रतिवद्धता मिलेर समाजमा शान्ति सुरक्षाको वातावरणलाई मजबुत बनाउन ठुलो योगदान पुयाउने बताउनुभएको थियो ।

त्यस्तै गलकोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल निउरेले मन्दिर निर्माण कार्यमा सहयोग गर्ने सम्पूणलाई धन्यवाद ज्ञापन गर्दै मन्दिर केवल धार्मिक स्थल मात्र नभई पहिचान र साँस्कृतिक धरोहरको प्रतिक भएको बताउनुभएको थियो ।

उहाँले यहाँबाट उत्पन्न हुने सकारात्मक उर्जा र धार्मिक भावनाले नगरमा आपसी मेलमिलाप, सद्भाव र सुरक्षा कायम गर्न मद्दत पुग्ने बताउनुभएको थियो । निउरेले शान्ति र सुरक्षा कायम भएपछि मात्र दिगो विकास सम्भव हुने बताउँदै आगामी दिनमा पनि नगरपालिकाले धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षणसंगै सुरक्षित, समावेशी र सभ्य समाज निर्माणलाई प्राथमिकता दिने बताउनुभएको थियो ।

कार्यक्रमको अवसरमा दुर्गा भगवती मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उक्त कार्यक्रममा जनवादी गायक जीवन शर्माको साँगितिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम प्रसाद कडेँल, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतम, सहिद थिरबम मल्ल फाउण्डेसनका अध्यक्ष मञ्जेश बम मल्लले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेको अध्यक्षता, सहायक प्रहरी नायव निरीक्षक मन बहादुर कार्कीको स्वागत र प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij