Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पर्यटकले हात्तीको सुँडमा बियर खन्याएपछि...

पर्यटकले हात्तीको सुँडमा बियर खन्याएपछि...

नैरोबी : केही दिनअघि केन्यामा एक जना स्पेनी पर्यटकले हात्तीको सुँडमा क्यानबाट बियर खन्याइरहेको भिडियो पोस्ट भएको थियो। यो भिडियो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू निकै कुद्ध बनेका थिए ।

भिडियो वन्यजन्तु आरक्षको थियो । भिडियोमा ती पर्यटकले स्थानीय बजारमा लोकप्रिय टस्कर क्यान बियर पिइरहेको अनि बाँकी रहेको बियर हात्तीलाई पिलाइदिएको देखिएको थियो । इन्ष्टाग्राममा पोस्ट भएको भिडियोको क्याप्सनमा 'दाह्रा भएको साथीसँग एउटा टस्कर' लेखिएको थियो ।विशेषगरी केन्यालीहरूले पोस्टमा गाली गर्न थालेपछि सो भिडियो हटाइएको थियो । भिडियो फुटेज विश्लेषण गर्ने क्रममा यो सक्कली भएको आफूले पाएको भन्दै बीबीसीले समाचारमा लेखेको छ ।

भिडियो हेर्दा यो लाइकिपिया काउन्टीको अल जोगी अन्सर्भेन्सीमा खिचिएको जस्तो देखिने बताइएको छ । यो भिडियोलाई सम्बन्धित निकायसम्म पुयाइएको सो वन्यजन्तु आरक्षका एक कर्मचारीले भनेका छन् । 'यस्तो कहिले हुनु हुँदैनथ्यो, हामी त संरक्षण गर्न बसेका हौं, हामी यस्तो गतिविधिलाई अनुमति दिँदैनौं,' फ्याङ्क नाम गरेका एक कर्मचारीले भने ।

आफूहरूले कुनै पनि आगन्तुकलाई हात्तीको नजिक जान समेत अनुमति नदिएको उनले बताएका थिए । यो घटनामाथि केन्याको वन्यजन्तु सेवाले छानबिन गरिरहेको छ । स्पेनी पर्यटक भनिएका ती व्यक्तिले सामाजिक सञ्जालमा आफ्नो नाम लेखेका छैनन् ।मङ्गलवार इन्ष्टाग्राममा पोस्ट भएको अर्को भिडियोमा ती व्यक्तिले दुई वटा हात्तीलाई गाजर खुवाइरहेको देखिन्छ । त्यसपछि उनले 'अब बियरको समय' भनेको सुनिन्छ । भिडियो डिलिट हुनु अघि कयौं युजरले कमेन्टमा ती व्यक्तिको 'डिपोर्टेशन' को माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij