Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

राजधानीमा तीनदिने 'अहिंसा महोत्सव' हुँदै

राजधानीमा तीनदिने 'अहिंसा महोत्सव' हुँदै

काठमाडौं : नेपाल शाकाहारी संघले राजधानीमा ‘अहिंसा महोत्सव’ आयोजना गर्ने भएको छ। आगामी भदौ १२ गते बिहीबारदेखि भदौ १४ गते शनिबारसम्म तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ छ ।

महोत्सवको सबै कार्यक्रम काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुनेछन्। ‘करुणाले जोड्छ’ भन्ने नारासहित आयोजना हुने यो महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पशुपक्षीमाथिको माया, मानव स्वास्थ्यको ख्याल र पृथ्वी/वातावरणको संरक्षणका लागि पूर्ण शाकाहारी जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ।

महोत्सवमा शाकाहार र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वक्ताहरुको सहभागिता रहनेछ। प्रमुख आकर्षणमा दिगो जीवनशैली, शाकाहारी संस्कार र पशु अधिकारबारे अन्तरक्रिया हुनेछन्। साथै भरतनाट्यम नृत्यलगायत सांगीतिक प्रस्तुति, योग सत्र, विभिन्न अभियन्तासँग प्रत्यक्ष भेटघाट तथा अनुभव आदानप्रदान, शाकाहारी परिकार र पकाउने विधिको प्रदर्शन, विशेष रात्रिभोजसमेत हुने कार्यक्रम रहेको छ।

महोत्सवमा ६० भन्दा बढी स्टल रहनेछन्, जसमा शाकाहारी उत्पादनदेखि खानासम्म प्रदर्शनी हुनेछ। केही स्टलमा निःशुल्क भिगन खानाको स्वाद चाख्न पाइनेछ। कार्यक्रमका लागि ४० भन्दा बढी वक्ता र २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था सहभागी हुनेछन्। आयोजकले ५० हजारभन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरेको छ।

नेपाल शाकाहारी संघले यसअघि २०७४ सालमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितासहित आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस सफलतापूर्वक आयोजना गरेको थियो। संघ करिब दुई दशकदेखि नेपालमा शाकाहार र अहिंसा प्रवर्द्धनका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको छ।

महोत्सवका सहआयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वर्ल्ड भिजन अर्गनाइजेसन रहेका छन् भने वर्ल्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन प्रायोजकका रूपमा रहेका छन्।नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबैलाई महोत्सवमा सहभागी भई शाकाहारी जीवनशैली र अहिंसाको सन्देशलाई बलियो बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij