काठमाडौं : हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार तिजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको हो ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चारवटा लाइनको व्यवस्था गरिएको छ । पहिलो लाइन गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो, मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तेस्रो लाइन पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चौथो, तिलगंगा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठवटा लाइनको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्रांगणबाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।
बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान साढे ५ बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij