Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कांग्रेस पदाधिकारी बैठकमा उपसभापति र महामन्त्रीलाई मात्रै बोलाइयो

कांग्रेस पदाधिकारी बैठकमा उपसभापति र महामन्त्रीलाई मात्रै बोलाइयो

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग बैठक गरिरहेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई मात्रै बोलाएका हुन् ।

देउवा निवास बुढानीलकण्ठको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आफूलाई बैठकमा नबोलाइएको जानकारी दिइन् । ‘मलाई बैठकमा बोलाइएको छैन,’ उनले भनिन् ।

साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्छ ।

अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरणविपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरिरहेका छन् । यसबारे पनि नेताहरूबिच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट