Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

देशबासीको कल्याणका लागि पूजा गरिने लमजुङ कालिका

देशबासीको कल्याणका लागि पूजा गरिने लमजुङ कालिका

लमजुङ :लमजुङको बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबारको कालिका भगवती मन्दिरमा समयसँगै पूजाको सङ्कल्प फेरिएको छ।

घटस्थापनादेखि पूर्णिमासम्म चल्ने यस विशेष पूजामा विगतमा राजपरिवारको भलोका लागि सङ्कल्प गरिन्थ्यो भने अहिले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने गरिन्छ।

उद्देश्य फेरिए पनि पुस्तौँदेखि चलिआएको तान्त्रिक तथा धार्मिक विधि भने हालसम्म निरन्तर छ। पूजाका क्रममा कालिका भगवतीसँगै महाकाली, महालक्ष्मी, महासरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, दश अवतार तथा तेत्तीस कोटी देवीदेवताको स्मरण गरिन्छ।

स्थानीय धार्मिक विश्वासअनुसार लमजुङ कालिकालाई जेठी, गोरखा कालिकालाई माइली, उदिपुर कालिकालाई साइँली र बागलुङ कालिकालाई कान्छी दिदीबहिनीका रूपमा पुजिन्छ।

विसं १५५० मा यशोब्रह्म शाह लमजुङका राजा भएपछि गाउँसहर दरबारसँगै कालिका मन्दिर स्थापना गरी कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ। मन्दिरको सम्पूर्ण पूजा तथा व्यवस्थापनमा २२ जना सुसारे खटिन्छन्। मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने अधिकार बराल, बोहोरा, आले र राना समुदायका पुजारीलाई रहेको छ भने अन्य सुसारेले व्यवस्थापकीय जिम्मेवारी सम्हाल्छन्।

यहाँको दसैँमा षष्ठीदेखि सुरु हुने फूलपाती भित्र्याउने विधि विशेष आकर्षण र महत्वको हुन्छ। षष्ठीका दिन दरबार परिसरमा विशेष पूजापछि आठ जना सुसारेको टोली बेँसीसहरको लक्ष्मीनारायण मन्दिर हुँदै मस्र्याङ्दी नदी किनार पुग्छ।

त्यहाँ बोकाको बलि दिएर रातभर भजनकीर्तनसहित जाग्राम बस्ने गरिन्छ। भोलिपल्ट बिहान स्नान गरी बेँसीसहरको फूलबारीबाट बेलपत्र, अशोकको पात, जयन्ती, आकुरीमाकुरी फूललगायतका सामग्री सङ्कलन गरिन्छ।

बाटोमा कतै नबिसाइ ल्याइएको फूलपाती चण्डीथुम्कामा पुर्‍याइन्छ, जहाँ लमजुङ दरबारबाट कलश, भजन समूह, मालश्री धुन र नौमती बाजासहित आएको अर्को टोलीसँग भेट हुन्छ। त्यहाँ कुपिण्डो र बलि अर्पण गरेपछि बाजागाजासहित फूलपातीलाई कालिका मन्दिरको दसैँघरमा भित्र्याइन्छ।

बडादसैँमा सरकारी परम्पराअनुसार २७ वटा पशु र ६ वटा राँगाको बलि दिइन्छ। भक्तजनको व्यक्तिगत बलि समेत जोड्दा यो सङ्ख्या ६० सम्म पुग्ने गर्छ भने चैतेदसैँमा २७ वटा बलि दिइन्छ।

मन्दिर सञ्चालनका लागि बडादसैँमा पाँच लाख रुपैयाँ र चैतेदसैँमा दुई लाख ७० हजार रुपैयाँ खर्च हुने गरेको छ, जुन बजेट विसं २०७८ यता क्रमशः बढ्दै आएको छ। परम्परागत विधि, ऐतिहासिक धरोहर र जनविश्वासले भरिएको यो मन्दिरले आज पनि आफ्नो सांस्कृतिक गरिमालाई जीवन्त राखिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij