Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल र भियतनामका उपराष्ट्रपतिबिच भेटवार्ता

नेपाल र भियतनामका उपराष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबिच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उनीहरुबिच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनालगायतका विषयमा छलफल भएको थियो ।

उनीहरुबिच मित्रवत्, न्यानो र सौहार्द रुपमा भेटवार्ता सम्पन्न भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको जानकारी दिए । दुवै मुलुकबिचको सम्बन्ध मित्रता, सदभावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबिच कुराकानी भएको थियो ।

दुवै उपराष्ट्रपतिबिच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति पनि भएको छ । सो अवसरमा दुवै मुलुकबिच हवाई उडान सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए ।

भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक रहेकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उनीहरुबिच छलफल भएको सहसचिव अधिकारीले बताए । द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबिच कुराकानी भएको थियो ।

भियतनामका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट