Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

स्वमूल्याङ्कनमा कोशी प्रदेशमै सूर्योदय पहिलो

स्वमूल्याङ्कनमा कोशी प्रदेशमै सूर्योदय पहिलो

पशुपतिनगर (इलाम) :  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलव ५० अङ्कसहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो ।

नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३ दशमलव ५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा ८, सहकार्य र समन्वयमा ५ दशमलव ५० अङ्क गरी जम्मा ९० दशमलव ५० अङ्क प्राप्त गरी जिल्ला तथा कोशी प्रदेशको पहिलो तथा देशकै छैटौ स्थानमा पर्न सफल भएको छ ।

इलामकै इलाम नगरपालिका ९० अङ्कसहित कोशी प्रदेश तथा इलाम जिल्लाको दोस्रो भएको छ । त्यस्तै विराटनगर महानगरपालिका  ८७ दशमलव २५ अङ्कसहित प्रदेशमा तेस्रो भएको छ ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले सबै कामलाई दिगो विकासका लक्ष्यसँग जोडेर काम गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कन परीक्षणमा कोशीकै पहिलो हुन सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले सबै कानुन कार्यविधि बनाएका छौँ, हामी कानुन कार्यविधिभित्र रहेर काम गर्छौ, यो सफलता त्यसैको हो ।’’

उहाँले विगतको अवस्थालाई रहेर नगरपालिका कहा चुकेको छ भन्ने पत्ता लगाएर काम गर्ने गरिएको जानकारी दिनुभयो । सूर्योदय नगरपालिका यस अघि आर्थिक विकास तर्फ देशकै पहिलो भएको थियो । सूर्योदय नगरपालिकाले सडकको २५ वर्षे गुरुयोजना निर्माण गरी काम गर्दै आएको छ । कार्यपालिका बैठकसहित नगरका सार्वजनिक महत्त्वका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्दै आएको नगरले प्रत्येक चौमासिकमा पारदर्शीताका लागि सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।

नगरलाई डिजिटलाइज गरी पेपरलेस अभियानमा लागेको नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि निरन्तर प्रयास  गर्दै आएको छ । बालमैत्री नगर घोषणा गरीएको सूर्योदयले यस अघि नै वडा नं। ८ र ९ लाई वातावरणमैत्री नगरपालिका घोषणा गरीसकेको छ । नगरले वडा नं। ७ र ९ लाई पोषणमैत्री वडा घोषणाका लागि काम गरिरहेको छ ।

दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न लागि रहेको यस नगरलाई कोशी प्रदेश सरकारले यस अघि नै पर्यटकीय नगरी घोषणा गरेको थियो ।

इलाम जिल्ला तथा प्रदेशमै  सूर्योदय पहिलो र इलाम दोस्रो हुँदा ७९ दशमलव ५० अङ्कसहित सन्दकपुर गाउँपालिका जिल्लामा तेस्रो भएको छ । फाकफोकथुम गाउँपालिका ७८ दशमलव २५ अङ्कसहित चौथो, रोङ गाउँपालिका ७८ अङ्कसहित पाँचौँ, देउमाई नगरपालिका ७७ अङ्कसहित छैटौँ, माङ्सेबुङ गाउँपालिका ७४ अङ्कसहित सातौँ, चुलाचुली गाउँपालिका ७१ दशमलव ५० अङ्कसहित आठौँ, माई नगरपालिका ६६ दशमलव ५० अङ्कसहित नवौँ र माईजोगमाई गाउँपालिका ६१ दशमलव ७५ अङ्कसहित दशौँ तथा अन्तिम भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट