काठमाडौं, भदौ ६ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको १५ औं महाधिवेशनमा सहयोगको अपेक्षा राखेको भन्दै सहयोग पाए नेपाली कांग्रेसका नेता कार्याकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छोड्ने बताएका हुन्।
‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ। म लाखौ कमाउने मान्छे हो मैले त्यो छोडेर राजनीतिमा आएको हो। मलाई कुनै लोभ छैन्,’ उनले भने, ‘म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो। बीपी १४ वर्ष जेल बस्नुभयो। कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गर्नुभयो। कृष्णप्रसाद कोइरालाको हजारौँ विगाह जमिन थियो। आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो। त्यही भएकाले भोलिका दिनमा महाधिवेशनमा मैले तपाइँहरूको सहयोगको अपेक्षा राखेको छु। सहयोग गर्नुहोला म तपाईहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु।’कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउने भन्दै केही योजना पनि सुनाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij