काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अध्यक्ष साहले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको नेपालको लिपुलेक भूमिबारेमा चुप लाग्न नहुने बताउँदै उनले यस्तो माग गरेका हुन् ।
‘नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूमि हो भन्दै सरकारले दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । यदी कुटनीतिक पहल गर्दै गर्दा यस्तो किन सुन्नमा आयो भन्ने प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रा राजदूतहरू के गरेर बसेका छन् ? ती देशका राजदूतको कार्यसम्पादन मूल्याङ्कन गर्ने बेला आएको छ । नेताहरूले आफ्ना आसेपासे, नातागोता, विश्वासपात्रलाई राजदूत बनाउनुहुन्छ र उहाँहरू त्यहाँ डलरको व्यापार गर्नुहुन्छ । हैन भने किन प्रगति देखिएन ?’
प्रतिपक्षमा भएको बेलामा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती भूभाग समस्या होइन फिर्ता ल्याउने कुरा गर्नुस् भन्ने उनले स्मरण गरे । अहिले भारत र चीनको भ्रमणको कुरा सार्वजनिक भइरहेको बताउँदै उनले भ्रमण पहिलो सूचीमा यो विषय पर्छ कि पर्दैन भन्दै उनले प्रश्न समेत गरेका छन् ।
‘भ्रमणको पहिलो सूचीमा यो विषय पर्छ की पर्दैन ? समस्याको रूपमा पर्छ कि फिर्ता लिने गरी पर्छ भन्ने म प्रश्न गर्न चाहन्छु । आज उहाँहरू नेपालमै हुनुहुन्छ (प्रधानमन्त्री र परराष्ट्रमन्त्री) र काठमाडौँमै हुनुहुन्छ । प्रधानमन्त्री पनि यही हुनुहुन्छ, परराष्ट्रमन्त्री पनि यही हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो महत्त्वपूर्ण विषयमा संसद् र जनतालाई जानकारी गराउनुको साटो, एकमत भएर यसको प्रतिकार गर्नुको साटो यहाँ केही फुटकर आवाज बनाएर कहाँ पुर्याउन खोज्नुभएको छ ? राजनीतिक स्टण्डले यसलाई नोक्सानी पुर्याउछ भन्ने म विशेष आग्रह गर्न चाहन्छु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij