Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने, छलफल नहुने

भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने, छलफल नहुने

काठमाडौँ : लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् ।

आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना छैन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेबाट अन्यथा आदेश भएमा बाहेक आज पेस हुने भूमिसम्बन्धी विधेयकमा छलफल नहुने जानकारी दिए ।

‘सभामुखको अन्यथा आदेश भएमा बाहेक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको २४ घण्टा पछाडि बस्ने कुनै पनि बैठकमा समितिका प्रतिवेदनहरूमाथि छलफल गर्ने सभाको नियमावलीमा व्यवस्था छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।

बिहीबार नै लामो गलफतीपछि फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदन भने समितिबाट सङ्घीय संसद् सचिवालयमा आई नपुगेको गिरीले जानकारी दिए । प्रतिवेदन सभाको बैठक अगावै सचिवालयमा पेस भएमा सभामा पेस गर्न भने समस्या नहुने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट