Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्का पुष्टि भयो’

‘भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्का पुष्टि भयो’

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्का पुष्टि भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताएका हुन् ।

उनले समितिको प्रतिवेदनलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रमाणविहीन र मनगढन्ते भनेर प्रतिवाद गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले प्रतिवेदन कार्यान्वयनमा अख्तियार र सरकारले चासो नदिएको भन्दै आपत्ति समेत जनाए ।

उनले भने, ‘सभामुख महोदय संसदीय समितिहरू बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणविहीन, हावादारी र मनगढन्ते भनेर प्रतिवाद गर्नुभएको छ । प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद र खेदजनक छ । यसले संसदीय समितिको मर्यादामाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्काको पुष्टि गरेको छ । अख्तियारले सत्यतथ्य छानबिन गरी यथार्थताको आधारमा कारबाही र निलम्बन प्रक्रिया सुरु गरोस् ।’

सांसद केसीले अख्तियारलाई सत्यतथ्यको आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट