काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि जस्तो लाग्ने गरेको बताएका छन् । बुधबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित रङ्गिन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कविता सङ्ग्रह) र आवाज (श्रव्य नाटक सङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘हुन त म अहिले सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु’, उनले भने, ‘तर यस्तो लाग्छ–देशको राजनीतिको खाँबो मैले छोड्दिएँ भने भत्किहाल्छ कि जस्तो पनि लाग्छ । गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पुरै जिम्मा मेरै काँधमा भएजस्तो ।’
उनले कहिलेकाही यस्तो त हुँदैन भन्ने पनि सोच्ने गरेको बताए । ‘सोच्छु यस्तो त हुँदैन जीवनमा । मान्छे त एउटा निश्चित अवधिसम्म गर्ने हो शाश्वत कुरा मरिन्छ र अर्कोले गाडी चलाउँछ । तर जिम्मेवारीबोध भन्ने यस्तो हुँदोरहेछ अन्तिम अवस्था नहुँदासम्म जिम्मेवारीले थिचिराख्ने’, प्रचण्डको भनाइ छ । उनले सोही कारण साहित्य क्षेत्रलाई समय दिन नसकेको पनि बताए । तर आफू प्रधानमन्त्री भएको बेला साहित्य र खेलकुद क्षेत्रका लागि सक्दो प्रयास गरेको दाबी गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij