चितवन : अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमुख सल्लाहकार, शिक्षाविद् तथा समाजसेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल”को १३औं पुण्य तिथिको अवसरमा उहाँको नाममा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
स्व. चापागाईंको स्याउली बजारस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रमकाे अवसरमा कलेजका प्रिन्सिपल प्रा. डा. इञ्जिनियर हरि भण्डारीले औपचारिक रूपमा छात्रवृत्ति योजनाको घोषणा गर्नुभयो। कार्यक्रममा उहाँले स्व. चापागाईंप्रति श्रद्धा प्रकट गर्दै उहाँको शिक्षाप्रतिको समर्पण, निःस्वार्थ सेवा भाव र सादगीपूर्ण जीवनशैली भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो।
कलेजले सार्वजनिक गरेको विवरण अनुसार, यो छात्रवृत्ति योजना अन्तर्गत हरेक शैक्षिक वर्षमा B.E. Civil र B.E. Electrical & Electronics (E&E) कार्यक्रम अध्ययनरत दुई जना विद्यार्थी एक छात्र र एक छात्रा लाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिका लागि छनोट गरिने विद्यार्थीहरू शैक्षिक रूपमा मेधावी हुनुका साथै आर्थिक रूपमा पनि विपन्न पृष्ठभूमिबाट आएका हुनुपर्नेछ।
यो छात्रवृत्ति योजना वार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको रहने कलेजले जनाएको छ। छात्रवृत्तिका लागि छनोट प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन, आर्थिक अवस्था लगायतका आधारहरूलाई समग्र मूल्याङ्कन गरिनेछ।
छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले विस्तृत कार्यविधि तयार गर्ने जनाएको छ। उक्त कार्यविधिमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया र व्यवस्थापन सम्बन्धी स्पष्ट निर्देशिका समावेश गरिनेछ।
कार्यक्रममा कलेजका भाइस प्रिन्सिपलसहित विभिन्न शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले स्व. चापागाईंको शिक्षासेवा र सामाजिक योगदानको स्मरण गर्दै उहाँप्रतिको श्रद्धा व्यक्त गरे।
भाइस प्रिन्सिपल कृष्णहरी पौडेलले मन्तव्य राख्दै छात्रवृत्ति योजना स्व. चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई भावी पुस्ताका लागि मार्गदर्शन र प्रेरणाको स्रोतसमेत बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उहाँले शिक्षा र सेवालाई जीवनको अभिन्न अङ्ग बनाउनु भयो। हामी उहाँका आदर्शलाई जीवन्त राख्न प्रतिबद्ध छौं।”
स्व. चापागाईं ‘चञ्चल’को शिक्षाप्रतिको समर्पण, दूरदृष्टि र समाजसेवा आज पनि यस क्षेत्रको शैक्षिक विकासका लागि मार्गदर्शक बनेको सहभागीहरूले बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij