Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिनुभयो । गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

सोमबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको जानकारी दिँदै अध्यक्ष डा शर्माले सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५ विद्यार्थी रहेको बताउनुभयो ।

नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजाअनुसार परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ५५ हजार ८९६ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए र ९४ हजार २६८ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए प्राप्त गरेको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो ।

यसैगरी ६९ हजार ८१२ विद्यार्थीले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र आठ हजार ९६४ विद्यार्थीले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए ल्याएका छन् । २३ जनाले भने एक दशमलव ६१ देखि दुई जिपिए ल्याएको उहाँले बताउनुभयो ।

यस वर्ष वैशाख ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नेपाल शिक्षक महासङ्घले गरेको शैक्षिक हडतालका कारण १० दिनपछि २१ गतेदेखि सुरु भएको थियो । जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए ।शिक्षकको २९ दिने सडक आन्दोलनका कारण १० दिन ढिलो गरी परीक्षा भए पनि नतिजा भने पोहोरभन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ ।

यसैगरी, ‘ननग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट