काठमाडौं : पुरुषले बहुविवाह गर्न पाउने गरी मुलुकी अपराधसंहिताको व्यवस्था संशोधन गर्न लागेको भन्दै सरकारको आलोचना भइरहेको छ । अपराधसंहिताको दफा १७५ संशोधन गरी उक्त व्यवस्था गर्न लागिएको भन्दै सरोकारवालाले बताए पनि मन्त्रीपरिषद्मा विचाराधीन विधेयकको मसौदा भने फरक रहेको पाइएको छ ।
कानुनमन्त्री अजयकुमार चौरसियाले कसुर यथावत् राखेर निश्चित परिस्थितिमा विवाह बदर नहुने व्यवस्था थप गर्न लागिएको बताए । चौरसियाले भने “गलत गर्ने व्यक्तिलाई कसुरमा हुने सजाय यथावत् राखेर निश्चित अवस्थामा बहुविवाह बदर नहुने प्रस्ताव गरिएको हो । सन्तानको अधिकार सुनिश्चित हुनु पर्छ भनेर यो व्यवस्था गर्न लागिएको हो । मसौदामा कुनै दुबिधा रहेमा प्रस्ट पार्न सकिन्छ तर बहुविवाहलाई कानुनी मान्यता दिन प्रस्ताव तयार भएको होइन, त्यस्तो मनसाय पनि छैन ।”
अपराधसंहिता संशोधनका लागि बनेको विधेयकको प्रारम्भिक मसौदामा प्राप्त सुझाव अनुसार प्रचलित व्यवस्था संशोधन गर्न लागिएको हो । संशोधन गर्न लागिएकामध्ये दफा १७५ को बहुविवाह गर्न नहुने व्यवस्था पनि एक छ । उक्त दफामा नयाँ व्यवस्था थप गर्न मसौदामा प्रस्ताव गरिएको छ ।
दफा १७५ (५) संशोधनका लागि प्रस्तावित व्यवस्थामा भनिएको छ, “…जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्धबाट बच्चाको जन्म भइसकेको वा महिला गर्भवती रहेको भए वहुविवाहको कसुरमा सजाय भएको कारणले मात्र त्यस्तो विवाह बदर हुने छैन ।” गोरखापत्रबाट
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij