चितवन : प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवस्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा महानिरीक्षक थापाले त्यस्तो बताएका हुन् ।
यौनजन्य हिंसा विरुद्धको साझाअभियान चितवनले आयोजना गरेको मानव बेचबिखनको बदलिंदो अवस्था तथा रोकथामको लागि सरोकार वालाको भूमिका विषयक उक्त अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक थापाले प्रहरी अधिकारीहरुलाई निर्देशन दिंदै साझेदारी एप्रोचमा समुदायसंग हातेमालो गर्न निर्देशन दिएका छन् । उनले मानव बेचबिखनको रुप परिवर्तन गर्दै आएको यो अवस्थामा यसको रोकथाम, अनुसन्धान, उद्धार, अनुगमन, अभिलेखिकरण र समन्वय गर्दै आएको प्रहरीले समुदाय संग मिलेर सचेतना जगाउन, कानुनी संयन्त्र सवल बनाउन र अपराधिक सञ्जाल ध्वस्त पार्न समुदायसंग सहकार्य आवस्यक रहेको बताए ।
चितवनको आफ्नो बसाई र हालको अवस्थाको बारेमा बोल्दै उनले भने, ‘चितवनलाई साइलेन्ट ट्राफिकिङ कोरिडोर नबनोस भन्नेमा नेपाल प्रहरी सचेत छ ।’ पछिल्लो समय मानव बेचबिखन सम्बन्धी अपराध बढेको भन्दा पनि संघसंस्था जागरुक भएको कारण प्रहरीमा उजुरी हाल्ने संख्या बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा भरतपुर भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतो, जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले मन्तव्य राखेका थिए । कार्यक्रममा मानव वेचविखन अनुसन्धान व्यूरो प्रमुख प्रहरी उपरीक्ष नरेन्द्र कुंवरले देशभरको र अधिवक्ता मदन थापाले चितवनमा मानव बेचबिखन को अवस्था वारे जानकारी गराएका थिए । यौनजन्य हिसा विरुद्धको साझा अभियान चितवनमा आवद्ध संस्थाहरुको आयोजना गरिएको कार्यक्रममा मीना खरेलको अध्यक्षता मा सम्पन्न भएको थियो ।