Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निकुञ्जलाई अभिषाप ठान्नु हुँदैन : वनमन्त्री कृष्ण सिलवाल

निकुञ्जलाई अभिषाप ठान्नु हुँदैन : वनमन्त्री कृष्ण सिलवाल

भरतपुर : बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले यसवर्षको बजेटमा माडी नगरपालिकावासीको रक्षा हुने गरी काम गर्न आवश्यक बजेट विनियोजन गरेको दाबी गरेका छन् । आइतबार आयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजित वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको स्मृतिमा निर्मित संरक्षण समर्पित स्मारकको अनावरण कार्यक्रममा बोल्दै मन्त्री सिलवालले माडीवासीले गर्व गर्नेगरी काम गर्ने प्रयास गरिएको दाबी गरे ।

माडीवासीको समस्याबारे वन तथा वातावरण मन्त्रालय पूर्णरुपमा जानकार रहेको बताउँदै मन्त्री सिलवालले भने, ‘हामी एक सिङ्गे गैँडाको राजधानीमा बस्न पाएका छौँ । यसमानेमा हामीले गर्व गर्नुपर्छ । एक सिङ्गे गैँडाकै कारण नेपाल विश्वमाझ परिचित बनेको छ । यसलाई माडीवासीले बिर्सनु हुँदैन ।’ तसर्थ बेलाबेला वन्यजन्तुका कारण मानवीय क्षेतिसमेत व्यहोर्नु परेको हुँदा निकुञ्जप्रति नकारात्मक भाव पैदा भए पनि यसलाई गहनाकै रुपमा ग्रहण गर्नुपर्ने उनले बताए ।

माडीवासीले राहत महसुस हुने गरी वर्तमान प्रदेश सरकारले काम गर्न थालेको उनले बताए । वन तथा वातावरण क्षेत्रसँगै भू–संरक्षणको क्षेत्रमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजना गरेर काम गर्न थालेको समेत उनले बताए । ‘पृथ्वी मानिससहित सबै जीवजन्तुको साझा घर हो । त्यसैले मानिसको जति अधिकार छ, सबै प्राणीको उत्तिकै अधिकार छ,’ उनले भने, ‘त्यसैले पृथ्वीमा रहेका सम्पूर्ण जीव मिलेर बस्न सक्नुपर्छ ।’ पृथ्वीमा कुनै जीव मासिए त्यसको असरमा मानवजातिमा समेत पर्ने हुँदा सबै जीवलाई उत्तिकै मह¤वका साथ हेरिनुपर्ने मन्त्री सिलवालको भनाइ छ ।

वन र निकुञ्ज क्षेत्रलाई पनि एक प्रकारको खेतीकै रुपमा लिनुपर्ने मन्त्री सिलवालले सुझाव दिए । माडीको वडा नं.१ देखि ९ सम्म पर्ने रिउ खोलाबाट हुने क्षति कम गराउनको लागि नयाँ आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । यसका साथै माडीमा भू–संरक्षणको क्षेत्रमा मात्रै करिब साढे दुई करोड रूपैयाँ बजेट विनियोजन भएको उनले बताए ।

त्यसबाहेक वन्यजन्तुले पु¥याउँदै आएको क्षति कम गर्न आयोध्यापुर करिडोरको लागि पनि थप एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ । ‘त्यसलाई बहुवर्षीय आयोजनाको रुपमा काम गर्ने गरी बजेट छुट्याएका छौँ,’ उनले भने, ‘आयोजना नसकिएसम्म हरेक वर्ष बजेट पर्ने गरी वातावरण बनाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij