Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा अपराधिक घटना बढ्दै

चितवनमा अपराधिक घटना बढ्दै

चितवन : चितवनमा पछिल्ला वर्षहरुमा अपराधिक घटना बढ्दै गएको छ । प्रहरीको मुद्दा दर्ता विवरणलाई हेर्दा पछिल्ला तीन वर्षमा अपराधिक घटना निरन्तर बढेको छ । आव २०७९/०८० मा एक हजार ५३६ मुद्दा दर्ता भएकोमा गत आव २०८१/०८२ मा एक हजार ७६५ वटा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज आइतबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यसको अघिल्लो आव २०८०/०८१ मा एक हजार ६२८ मुद्दा दर्ता भएको थियो । चितवनमा सबैभन्दा बढी संगठित तथा आर्थिक अपराध बढी भएका छन् ।एक वर्षको अवधिमा संगठित तथा आर्थिक अपराध ५५६ वटा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसपछि सामाजिक अपराध ३४९, ज्यान सम्बन्धी मुद्दामा २९५, आत्महत्या सम्बन्धी १९३, चोरी सम्बन्धी १४८ लगायतका मुद्दा रहेका छन् । गत आवमा एक हजार ८९२ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये २३ पुरुष र १ महिला गरी २४ जना विदेशी नागरिक छन् । त्यस्तै एक हजार ६९६ स्वदेशी पुरुष र १७१ स्वदेशि महिला र एक समलिंगी समेत अपराधिक कार्यमा संलग्न रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। घटनामा संलग्न मध्ये एक हजार ३९५ पक्राउ परेका छन् ।

एक वर्षको अवधिमा एक हजार सात सय ६५ अपराधिक घटना भएको चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए ।जिल्ला प्रहरी कार्यालय चितवनले अपराधिक घटना हुने महिना समेत विश्लेषण गरेको छ । प्रहरी उपरीक्षक पुरीका अनुसार असार महिनामा सबैभन्दा बढी अपराधिक घटना भएका छन् । यो महिनामा २०५ वटा घटना भएका छन् । त्यसपछि क्रमशः जेठमा १७३, साउन महिनामा १७२, भदौमा १६४, पौषमा १५६, कात्तिकमा १५६, वैशाखमा १४१, चैतमा १३६, असोजमा १३१, माघमा ११८, मंसिरमा ११३ र सबैभन्दा कम फागुन महिनामा ९९ वटा अपराधिक घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट