Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पश्चिम चितवनमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

पश्चिम चितवनमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

भरतपुर : पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो ।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ । अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।

उहाँका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो । उहाँले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताउनुभयो ।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा चार सय ५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले राससलाई जानकारी दिनुभयो ।दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट