‘ताम्बा काइतेन’ (ताम्बाको अभ्यास-अनुभव) तामाङहरूको एक प्रकारको अऔपनिवेशिक अभ्यास हो अर्थात् मानसिक रूपमा उपनिवेशिक प्रभावबाट मुक्त हुने एक सांस्कृतिक उपाय हो। ताम्बा रेम्पोर्छेहरूले जसरी निरन्तर रूपमा ‘म हिन्दू होइन, म क्रिश्चियन होइन’ भनेर आफ्नो पहिचान स्पष्ट पार्दै आएका छन्, त्यो नै उपनिवेश नभएको वा त्यसको प्रतिरोधमा रहेको एक सजीव प्रमाण हो।
न्हाङ्खोर
तामाङ समुदायको आफ्नै ‘न्हाङखोर’ (निकट पारिवारिक थर समूह) हुन्छ। जब छोरी-चेली माग्नका लागि कुटुम्ब आउँछन्, सबैभन्दा पहिला कुरा मिलाउने, छलफल त्यही न्हाङखोरमा हो। न्हाङखोर निकट पारिवारिक थर समूह बिच संवाद्, निर्णय र सामूहिक सहमति लिने संस्था हो। कुटुम्बालाई छोरीचेली ‘दिने कि नदिने’ भन्ने निर्णय यही न्हाङखोरमा गम्भीर छलफलपछि तय हुन्छ।
तामाङ परम्परामा चोहो, गाउरुङ, ताम्बा, गान्बा, बोम्बो, लाप्ताबा (लाबोन), लामा आदि सबै न्हाङखोरका अङ्ग हुन्। यी सबै संरचनाहरू आपसमा अन्तरसम्बन्धित छन्। त्यसैले न्हाङखोर नबुझीकन ताम्बा केवल व्यक्ति मात्र हुन्।
ताम्बा को हुन् ?
अब म ताम्बाको कुरा गर्न चाहन्छु। मभन्दा अघिका वक्ता मित्रहरूले भनि सक्नुभएको छ- ताम्बा गायक वा कथावाचक हुन्, ताम्बा तामाङ सामाजका नायक हुन्, इतिहासकार हुन्, दार्शनिक हुन् र तामाङ समाजका प्रवक्ता हुन् भनेर। तर, ताम्बा यति मात्र होइन- ताम्बा तामाङ सांस्कृतिका वा तामाङ सामूहिक ज्ञान र परम्पराका संवाहक हुन्।
ताम्बाले तामाङ रूइ (थर)को इतिहास भन्ने गर्छन्। तामाङ ठुङ्सा (उत्पत्तिथलो) र बाप्सा (आदिथलो) को इतिहास भन्ने गर्छन्। ताम्बा एक विद्वान पनि हुन्- उसले तामाङ ङारूइ (स्वागे)हरू, संस्कार र सामाजिक आचार-व्यवहारहरू, नैतिकता र सामाजिक मूल्य-मान्यताहरू के-के हुन्, कसरी चलेका छन् र तिनका महत्व के के छन्, आदि बारे बताउने गर्दछन्।
संसारभरिकै आदिवासीहरूको साझा विशेषता भनेको मौखिक कथा वाचन परम्परा हो। यो तामाङ समाज वा ताम्बा परम्परामा पनि प्रचलित छ। यो मौखिक परम्परा लिखित इतिहास सुरु हुनुभन्दा धेरै पहिलेदेखि जीवित रहँदै आएको हो। जसको संस्कृति मौखिक परम्परामा आधारित छ, ऊ आदिवासी हो- ऊ साँचो अर्थमा स्मृति, गीत र कथामार्फत् इतिहास बोकेको समाज हो।
आदिवासीले किन कथा भन्छ ?
एकजना माओरी विद्वान भन्छन्- ‘कथाहरू कुनै संस्कृतिका विश्वास र मूल्यहरू नयाँ पुस्ताहरूले पनि कदर गरून् भन्ने आशाका साथ हस्तान्तरण गर्ने माध्यम हुन्। कथा र कथाकार दुवैले अतीतलाई भविष्यसँग, एक पुस्तालाई अर्को पुस्तासँग, भूमिलाई जनतासँग र जनतालाई कथासँग जोड्ने कार्य गर्छन्।’ ताम्बाले अतीतलाई भविष्यसँग, एक पुस्तालाई अर्को पुस्तासँग, भूमिलाई जनतासँग र जनतालाई कथासँग जोड्ने पुलको काम गर्छन्। तामाङ समुदायमा ताम्बाले विवाह वा विभिन्न संस्कारहरूमा पुनःपुनः उही कथा, उही गीत सुनाउँछन्- उही पेङदोर्जेको कथा, उही केसा, ठुङ्सा र बाप्साको कथा। ती दोहोर्याइएका कथाहरू वास्तवमा दोहोरिएका होइनन्, पुस्तान्तरण र आत्मचेतनाको निरन्तरता हो।
ताम्बाले कथा सुनाउँदा तामाङ नयाँ पुस्ताले आफ्नो विश्वास पद्दती, धर्म, दर्शन र सामाजिक मूल्य-मान्यताहरूलाई सुनेर सिक्ने अवसर पाउँछन्। तामाङ परम्परामा कथा भन्नु भनेको अतीतलाई वर्तमानमार्फत् भविष्यसँग जोड्नु हो। मानौ ताम्बाले कुनै एउटा विवाह वा छेवारमा पाख्रिन रूइ (थर)को कथा भन्यो वा पाख्रिनहरूको पुराङच्यात (पुराङचे)को कथा भन्यो भने ती कथाहरूले पाख्रिनहरूलाई आफ्नो बाप्सा (पुर्ख्यौली भूगोल)सँग अनि आफ्नो ङारूइ (स्वागे थर)सँग, समाजसँग र आफ्नै अस्तित्वसँग जोडिराख्ने कार्य गर्दछ। उ संसारको जुनसुकै कुनामा किन नहोस् उ आफ्नो भूमिसँग, इतिहाससँग, आफ्नो तामाङ संस्कृति-परम्परासँग जोडिराख्ने कार्य गर्छ। यदि ताम्बाले यो कथा नभन्ने हो भने उ आफ्नो जराबाट अलगिन्छ। त्यसैले भनिन्छ- मानिस कथा बिना बाँच्न सक्दैन। ताम्बाको मुखबाट निस्केको कथा हाम्रो समाजको आत्मा हो, जसले जरा पहिल्याउँछ, जीवनलाई दिशा निर्दिष्ट गर्छ।
ताम्बा कहाँबाट आयो ?
अब प्रश्न उठ्छ- ताम्बा भन्ने पात्र कहाँबाट आयो त ? ताम्बाको उत्पत्ति कसरी भयो त ? ताम्बाको कथा वाचन (मौखिक) परम्परा दुई धारबाट आए भन्ने गरिएका पाइन्छन्। एक थरि मत अनुसार ताम्बा बोम्बोबाट नै उत्पत्ति भएका हुन्। बोम्बोको जिम्मेवारी धेरै भएपछि कथा भन्ने जिम्मा उसले ताम्बालाई सुम्पिदियो भन्ने छ। अर्को थरि भनाई अनुसार ताम्बा बुद्धधर्मको प्रभावबाट उत्पन्न भएका हुन् भन्ने छ। बुद्धधर्मको गहिरो दर्शन सर्वसाधारणले बुझ्न गाह्रो भयो र यसलाई सरलतम ढङ्गबाट भन्न वा बुझाउनका लागि ताम्बाको जन्म भयो भन्ने पनि छन्।
हिमालय क्षेत्रमा बुद्धधर्म पुगेपछि बोम्बो र लामा बिच द्वन्द्व पनि देखिन थाल्यो। यस द्वन्द्वलाई मिलाउने प्रयत्नस्वरूप एक मध्यस्थकर्ता (पात्र)को आवश्यकता महसुस गरियो, जसलाई न मन्त्र नै आउँछ, न त छ्योइ (शास्त्र) नै पढ्न जान्दछ तर उसले सहज भाषामा कथा भन्छ। त्यो पात्र नै ताम्बा हो।
ताम्बाले आफ्ना कथाहरू जनसाधारणले बुझ्ने शैलीमा प्रस्तुत गर्छन्। त्यसैले नुवाकोटका ताम्बाले भिन्न शैलीमा, दोलखाका ताम्बाले आफ्नै शैलीमा र तेमाल क्षेत्रका ताम्बाले आफ्नै विशेष शैलीमा कथा वाचन गर्छन्। वाचन शैली वा अभिव्यक्त गर्ने शैली (वा लय) फरक भए पनि आत्मा (सार) भने एउटै रहन्छ- तामाङ समाजको ज्ञान, इतिहास र दर्शनको जीवित स्रोत।
यो ताम्बा बोम्बोबाट आयो कि बुद्धधर्मबाट भन्ने बहस निरन्तर चलिरहन्छ र चलिरहनु पर्छ। निरन्तर बहस भयो भने मात्र चेतना बाँच्दछ, नत्र चेतना बाँच्दैन। त्यसैले संस्कृतमा भनिन्छ नि- “वादे वादे जायते तत्वबोधः।” अर्थात् बहसले नै तत्वको बोध हुन्छ।
तामाङ गाउँघरतिर घेवा सकेपछि बोम्बोले घर सिल्बा (सुद्धिकरण) गर्नुपर्छ। हिजोआजा लामाहरू ठेङा माला लिएर फुक्न थालेका छन्। दुईटाको बिचमा मिलन र द्वन्द्व दुबै छ। तामाङको चोहो र गान्बा राजनीतिक संस्था हो। यहाँ पनि मिलन झगडा दुबै छ। तर, ताम्बा कोहीसँग झगडा गर्दैन। ताम्बा न झगडालु पात्र हो, न सत्ता खोज्ने नेता। ऊ त त्यो पात्र हो जसले समाजलाई भाषा, कथा, गीत र स्मृतिको धागोमार्फत् बाँधेर राख्ने गर्दछ।
अर्को कुरा ताम्बाको काम कथा भन्नु मात्र होइन, चेतनाको चाबी बाँड्नु पनि हो। त्यसैले ताम्बा हुनु भनेको समाजको आत्मालाई बाँचिरहन दिनु हो। ताम्बा बोलिरहे, कथा बाँचिरहन्छ, कथा बाँचिरहे, तामाङ समाज बाँचिरहन्छ।
ताम्बाको दृष्टिकोण
दर्शनको एउटा मूल प्रश्न हुन्छ- हामी संसारलाई कहाँबाट, कसरी हेर्छौँ ? भन्ने। दर्शनको विविध धारहरूले संसार हेर्ने आधारभूत दृष्टिकोण प्रस्तुत गर्दछ। ठिक त्यस्तै प्रश्न ताम्बामाथि पनि तेर्सिन्छ- ताम्बाले कहाँ उभिएर संसारलाई हेर्छ ? यो प्रश्न सामान्य लाग्न सक्छ तर यसको उत्तरले ताम्बाको दर्शन, संसारबोध र मूल दृष्टिकोण निर्धारण गर्छ। कुनै दुईजना मानिस आम्नेसाम्ने उभिएको छ भने दुबैले आफ्नो पछाडिको भाग देख्न सकिन्न। यसरी, कसले कहाँबाट हेर्छ ? भन्ने सवालले संसार कस्तो देखिन्छ ? भन्ने कुरा तय गर्छ।
ताम्बा उभिएको ठाउँ नै उसको बौद्धिक स्थिति हो। ताम्बाले ‘ठिकि ङाप्ता आहिन ङा/दोनकि दोप्ता आहिन ङा/… ताम्बा काइतेन बिखाम्बा’ भनेर गीत गाउँछन्। गीतका यी पङ्तीहरूमा ताम्बाका आत्मघोषणा हुन्छन्- ‘म बोम्बो होइन’, ‘म लामा पनि होइन’, ‘म त ताम्बा हुँ’ भन्ने। ‘म ताम्बा काइतेनको दृष्टिकोणबाट संसार हेर्छु’, ‘म ताम्बाकै कथा, लय, अनुभूति अनि ताम्बा धरोहरकै आधारबाट संसार बुझ्छु’ भन्ने।
ताम्बाले सृष्टिको कथा यसरी सुनाउँछन्- ‘दाङ्बो तोङ्पा राङसिङरि/दोर्जेग्याडाम लुङ छ्याजिम/…/डुवा रिडुक म्हि छ्याजिम/…/तोर्से बाररि चान छ्याजिम’। यहाँ उहिले शुन्य आकाशमा, हावाको वज्र आकार स्वरूप बन्यो, हावा माथि आगो उत्पत्ति भयो, आगो माथि पानी बन्यो, पानी माथि धुलो जम्यो र जमीन बन्यो, त्यसपछि सुमेरू (ह्रिग्याल लुन्पो) पर्वतको उदय भयो, पूर्व, दक्षिण, पश्चिम र उत्तर दिशाको सृष्टि भयो, समयको आरम्भ भयो भनिन्छ। मानिसको उत्पत्ति भयो भनिन्छ। मानिसको उत्पत्ति पछ देवीदेवताको उत्पत्ति भयो भनिन्छ।
यो विज्ञानका निम्ति ‘बिगब्याङ’ सिद्धान्त हो भने बुद्धधर्मका निम्ति यो ‘तोङ्पाङि’ (शून्यता)को अवधारणा हो। ताम्बाको कथा पनि यही अनिवार्य दर्शनपरम्परामा उभिएको छ- संसार उत्पत्तिको व्याख्या गर्नु ताम्बा दर्शनका निम्ति अपरिहार्य छ, ताम्बाले त्यो भूमिका निर्वाह गरेका छन्।
ताम्बाको सृष्टि कथामा एउटा चाखलाग्दो प्रसङ्ग आउँछ- दोर्जे (वज्र)को। दोर्जे ताम्बाको सृष्टिकथामा कसरी आयो ? बुद्धधर्ममा वज्र इन्द्रबाट आएको मानिन्छ। इन्द्रले भगवान बुद्धलाई वज्र चढाएको भनिन्छ। ताम्बाले पनि आफ्नो कथा वाचनमा, गीतमा वज्र (दोर्जे)को प्रसङ्ग ल्याउँछन्। वज्रको प्रसङ्ग किन ल्यायो ? कहाँबाट आयो ? यसको खोज अब ताम्बा वा ताम्बा सङ्घ स्वयंले गर्नुपर्ने हुन्छ। यो ताम्बाको लागि चुनौती पनि हो र अवसर पनि।
ताम्बा सौन्दर्यशास्त्र र जीवन–दर्शन
दर्शनमा सौन्दर्यशास्त्र त्यो शाखा हो, जसले हामी कुन चिजलाई राम्रो भन्छौँ ? किन राम्रो भन्छौँ ? तामाङहरूका लागि चिम्सो आँखा, थ्याप्चे नाक र गोलो अनुहार सौन्दर्यका प्रतीक हुन्छ। तर, ब्राह्मण जातिका लागि त्यो सौन्दर्य होइन। उनीहरूका लागि भित्र पसेको (गहिरो) आँखा, चुच्चे नाक सौन्दर्यका प्रतिक हुन्। तामाङका लागि गाई देख्दा ‘लाङस्या’ (गाईको मासु)को याद आउँछ। त्यही गाई ब्राह्मणहरूका लागि ‘गौमाता’ हुन्। यही दृष्टिकोणको भिन्नतालाई नै सौन्दर्यशास्त्र भनिन्छ।
ताम्बाले सौन्दर्यका कुरा गीतमार्फत् व्याख्या गर्छन्- ‘ताम्बा म्हाला रूइ म्हाला/गान्बा म्हाला ठिम म्हाला/तान्बा म्हाला बार्जे खाला/लामा म्हाला छ्योइ म्हाला/ह्याङ्दा म्हिसे तिला बिला।’ (ताम्बा हराए रूइ (थर) हराउँछ/बुग्रुक हराए ठिम (नीति/नियम) हराउँछ/सन्तानको समाप्तिले बिपत्ति आउँछ/लामा हराए शास्त्रको अन्त्य हुन्छ/मान्छेले हामीलाई के भन्ला।) यी चिजहरू हराए भने तामाङ समाजको आत्मा हराउँछ। ताम्बा गीतको रोचक पक्ष अन्तिम हरफमा छ। त्यो भनेको ताम्बाले अरूले आफूलाई के भन्छन्, त्यो बताउँछन् तर आफूले के भन्छ त्यो रहस्यमय छोड्छन्।
यसकारण ताम्बा केवल कथा वाचन गर्ने पात्र मात्र होइन। उनी त ऐतिहासिक, दार्शनिक र सौन्दर्यात्मक दृष्टिकोण राख्ने संस्कृति र परम्पराका जीवन्त वाहक पनि हुन्। ताम्बाले कथा मात्र होइन, दृष्टिकोण दिन्छन्- संसारलाई कसरी हेर्नुपर्छ भन्ने कुरा सिकाउँछन्। अर्को कुरा ताम्बाले बोम्बो र लामा बिचको अन्तरालमा उभिएर जनमानससँग संवाद गर्छन्।
ताम्बाको सौन्दर्यशास्त्रको अर्को आयाम ‘काल्पाला व्हाइ’ हो। यो मृत्युका बेला गाइने गीत हुन् जसमा मृतक आफैँ गीतमार्फत् बोल्ने गर्छन्- ‘म मरेको छु, अब म चरा भएर फर्कन सक्छु, म फूल भएर फुल्न सक्छु, म भमरा भएर आउन सक्छु।’ त्यसैले गीतमा आग्रह गरिन्छ- ‘चरा भनेर नमार्नु, फूल भनेर नटिप्नु, किरा भनेर नमार्नु।’
ताम्बा दृष्टिकोणमा मृत्यु अन्त्य होइन रूपान्तरणको यात्रा हो। लामाले जहाँ मृत्युपछिको जीवनलाई ‘थार्पेलिङ’ (मोक्ष प्राप्ति) वा अर्को संसारको यात्राको रूपमा देख्छन्। तर, ताम्बाले भने यो दुनियाँमै पुर्खाहरूको उपस्थितिलाई स्वीकार्छन्। यही दर्शनले तामाङको प्रकृतिसँगको सम्बन्ध गहिरो देखाउँदछ।
भूमि र प्रकृतिसँगको सम्बन्ध
संसारका सबै आदिवासीहरूले आफ्ना पुर्खाहरूलाई वरिपरिका डाँडाकाँडा, जङ्गल र गुफा (ओडार)हरूमा बसाउँछन्। देव-देवीहरू पनि वरपरका ज्योहो–ज्योमोथानहरूमा नै हुन्छन्। पूजा आदिका बेला जुन मण्डलहरू हमी सजाउँछौँ, ती देवीदेवताहरूका आशनहरू हुन्। पूजाका बेला धुप, अक्षता, अरू खाद्य र रक्सीलगायतका चिजहरू चढाएर देव-देवीहरू र पुर्खाहरूलाई चित्त बुझाउँछौँ अनि हाम्रा आफ्ना भूमि, वनजङ्गल, खेतीपाती, पशुधन र जनधन सबैको रक्षाका लागि पुकार गर्छौँ र विदा गर्छौँ। यो तामाङ जीवन दर्शन हो, तामाङ सौन्दर्य पद्धति हो र तामाङ धर्म दर्शन हो। संसारभरिकै बोन परम्परालार्इ नियाल्ने हो भने यही कुरा पाउँछौँ। यो उनीहरूको प्रकृति र भूमिसँगको जीवन्त सम्बन्ध हो।
ताम्बाको कथा र गीतमा सा (भूमि)लाई महत्वकासाथ लिइन्छ। कुन रूइको तामाङको उत्पत्ति कहाँ भयो ? पहिलो बाप्सा (पुर्ख्यौली थलो) कुन ठाउँ हो ? यी प्रश्नहरू भौगोलिक तथ्यहरू मात्र होइनन्- यी त सम्बन्धित रूइका जरा हुन्। ‘साप्जिल्हामो’ (भूमीदेवी) भनेर पूज्ने सन्दर्भ त्यही हो।
अर्को कुरा, ताम्बाले प्रकृतिसँगको सन्तुलन बारे बोल्ने गर्दछ। उसले आफैँलाई प्रकृतिसँग कसरी सन्तुलनमा राख्छ ? तपाईँ हामीले बोम्बोले कुखुरा चढाएको देखेका छौँ। उसले ठूलो भाले वा पोथी कुखुरा चढाउँनु भन्दा पहिले त्यसलाई सानोमा प्रतिस्थापन गर्छ अनि मात्र ठूलोलाई चढाउँछ। यो कुनै अन्धविश्वास होइन, प्रकृतिलाई सन्तुलित रूपले सञ्चालन गर्ने विधि हो। ताम्बालाई पनि कुखुरा चाहिन्छ, माछा चाहिन्छ किनकि तामाङको जीवन–चिन्तन निरन्तर घुमिरहने चक्र (खोर्लो) हो। यसैले त हाम्रो समयको धारणा रेखीय होइन, चक्रीय हुन्छ।
आदिवासी जीवनदर्शनको अर्को विशेषता भनेको उ अध्यात्मसँग गहिरो सम्बन्ध राख्दछ। उ ज्योहोज्योमोसँग अर्थात् डाँडाकाँडा, वन, खोलानाला आदिसँग सम्बन्धित हुन्छन्। उ ती ज्योहोज्योमोसँग जोडिएको हुन्छन्। ज्योहोज्योमोलाई रिसाउने पारेर ताम्बा बन्न सक्छ ? सक्दैन। ती ज्योहोज्योमोहरू भनेका जम्माजम्मिमा डाँडा नै त हो। तर, ती ज्योहोज्योमोहरू बिना तामाङ गाउँको अस्तित्व असम्भव छ। ती ज्योहोज्योमोहरूको अस्तित्व बिना ताम्बा र चोहोको पनि अस्तित्व हुँदैन। यहि हुन्छ भने त्यो आदिवासी होइन। आदिवासीहरूको विशेषता भनेकै ती ज्योहोज्योमोहरूलाई सम्झेर, मण्डप स्थापना गरेर, मण्डपमा आव्हान गरेर, सबैलाई साक्षी राखेर काम सुरु गर्छ। सबैको अनुमति लिएर अघि बढ्छ। यत्ति गर्दा पनि केहि तलमाथि भयो, बिग्रियो भने अन्त्यमा क्षमायाचना गर्छ। यो तामाङ अध्यात्मको कुरा हो अर्थात् तामाङ न्हाङ्बाको कुरा हो।
ल्याटिन अरेरिकामा यसै प्रकारको चिन्तनलाई भिविरमिया भनिन्छ- जहाँ प्रकृति र मानव बिचको सहजीवनलाई मूल्य दिइन्छ। तामाङको पनि त्यस्तै हो। हामी धर्तीलाई सब्जिल्हामो (धर्तीदेवी)को रूपमा पूज्दछौँ। हामी उही सब्जिल्हामोको काखमा जन्मन्छौँ, हुर्कन्छौँ, बाँच्दछौँ र अन्ततः त्यहीँ फर्कन्छौँ।
ताम्बा काइतेन: तामाङ जीवन–दर्शन
ताम्बा काइतेन भनेको तामाङ समुदायले अभ्यास गर्दै आएको जीवन-चिन्तन हो। हाम्रा पुर्खाहरूले हामीलाई ‘यो नगर’, ‘त्यो नगर’ भनेर दिएका जीवन-निर्देशनहरू नै ताम्बा काइतेन हुन्। यो तामाङ हुनुको आधार हो- तामाङ भएर सोच्ने, बुझ्ने र बाँच्ने तरिका हो। ताम्बा काइतेन जार्दी (बाह्य)हरूले जस्तो सोच्ने प्रक्रिया होइन। तामाङले जस्तो सोच्ने भन्नुको तात्पर्य गाङसाल्मो र चिसाल्मोको कथा सम्झने कुरा हो, पेङदोर्जेको काहानी मनमा आउने कुरा हो। अर्को अर्थमा ताम्बा काइतेन भनेको तामाङ निर्माण गर्ने प्रक्रिया हो। जब कि बाह्य शक्तिहरूले तामाङलाई मेटेर मतवाली, सेँ जस्ता पहिचानहीन बनाउन खोजे, जहाँ ताम्बा काइतेनले भने तामाङ पहिचानलाई जोगाउने, पुनः निर्माण गर्ने काम गरिरह्यो। आज तामाङ नयाँ पुस्ताहरू एआई जस्ता आधुनिक प्रविधि प्रयोग गरिरहेका बेला पनि ताम्बा ज्ञान सिकिरहेका छन् र ताम्बा बन्ने प्रक्रियामा छन् यो भनेको तामाङ पुनर्निर्माणकै हिस्सा हुन्।
ताम्बा मण्डला (तामाङ मण्डला)को केन्द्रमा ह्रुइ (थर) हुन्छ। तामाङ ह्रुइ दुई प्रकारका हुन्छन्- थेमोखोर र ङेनखोर। ह्रुइसँगै फोला (कुलदेवता), डाला (रक्षकदेवता), ठुङ्सा र बाप्सा पनि हुन्छन्। त्यसपछि ग्योइ (भाषा) आउँछ र ग्योइले यी कुराहरूलाई संरक्षण गर्छ। ग्योइ मात्र भएर पुग्दैन- काइतेन हुनुपर्छ। त्यसपछि मात्र रिमठिम र ह्युलठिम विकसित हुन्छ- जहाँबाट तामाङ अस्तित्वको पुनर्निर्माण सम्भव हुन्छ।
हामीले यो किन गरिरहेकाछौँ त ? किनकि यो अहिलेको २१औँ शताब्दीको राजनीतिक-दार्शनिक सन्दर्भमा अऔपनिवेशिकताको अभ्यास हो। यसको अर्थ हो दिमागी रूपमा रहेको उपनिवेशवाद अर्थात् गुलामीको सोचबाट मुक्ति। ‘तामाङ हुन लाजको कुरा हो’ भन्ने सोच दिमागी गुलामी हो। ‘ताम्बालाई केही आउँदैन’, ‘ताम्बा अन्धविश्वास हो’, ‘रूढीवादी हो’ भन्ने भनाइहरू पनि दिमागी गुलामीका स्वरूपहरू हुन्। हामीले जुन ताम्बा प्रशिक्षणहरू दिइराखेका छौँ, लिइराखेका छौँ यो पनि दिमागी गुलामीबाट मुक्त हुने एउटा सशक्त प्रक्रिया हो। यी प्रशिक्षण कुनै तालिम मात्र होइन, यो त हाम्रो तामाङ ज्ञान निर्माण परियोजना हो- तामाङ ज्ञान मिमांसा हो।
यस अभ्यासमा तामाङ समुदायले आफूभित्रको ज्ञानको खोजी गर्छ। उसले बाह्य या पश्चिमी ज्ञानलाई सन्दर्भका रूपमा हेर्छ र त्यसको जगमा आफ्नै ज्ञानको स्रोतहरूसँग संवाद गर्छ। आफ्नो कथा, भाषा, विश्वास पद्धति र जीवनदर्शनको आधारमा तामाङ ज्ञान संरचनाको खोजी र निर्माण गर्छ। आफ्नै ज्ञानको आधारमा सोच्छ, बोल्छ र बाँच्ने तरिका बनाउँछ वा तामाङ जीवन पद्धति निर्माण गर्छ।
हामी आफ्नो तामाङ गोइलो (पोशाक)मा सजिन्छौँ, तामाङ टोपी लगाउँछौँ यो कुनै आवरणीय कुरा मात्र होइन, तामाङ सोच र जीवन दृष्टिकोणको मूर्त रूप हो। तपाईँ-हामी अझै पनि नेपाली भाषा बोल्दा ‘खान्छा’ र ‘जान्छा’ जस्ता उच्चारण गर्छौँ। यसलाई कतिले हेय, नजान्ने र गवार दृष्टिले हेर्छन्। तर, यो हाम्रो तामाङ मातृभाषिकपनको प्रभाव हो- तामाङ भाषाको संरचना नै अकारयुक्त संरचना होइना, आकारयुक्त संरचना हो। त्यसैले, हामी तामाङ हौँ, हामी ताम्बा ज्ञानबाट सोच्छौँ, चिन्तन गर्छौँ, आफ्नो भाषामा बोल्न सक्छौँ। यही नै दिमागी उपनिवेशबाट मुक्ति हो। यही नै अऔपनिवेशिक अभ्यास हो।
(प्रस्तुत आलेख लेखकले मिति २०८२ असार २२–२६ गतेसम्म ताम्बा सङ्घ नेपालद्वारा काठमाडौँमा आयोजित ताम्बा प्रशिक्षणमा दिइएको प्रशिक्षणात्मक प्रस्तुतिको आधारमा तयार पारिएको हो। लेखक लुम्बिनी कलेज अफ बुद्धिजम एण्ड हिमालयन स्टटिजका एड्ज्वाइन्ट प्रोफेसर हुन्।)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij