काठमाडौँ : आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यकाभित्र रहेको करिब २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम स्थलमानै शीर्षक दिई लेखन कार्य सम्पन्न भएको थियो भने अन्तिम छनौटमा परेका १५ प्रतिस्पर्धी प्रतियोगीलाई वाचनमा सहभागी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा नवराज लम्साल थिए । उनले आफ्नो मन्तव्यको क्रममा विद्यार्थीले आफूले बनाउने आफ्नो दैनिकी नियमको उल्लङ्घन नगरीकन अगाडि बढेमा विद्यार्थी जीवन मात्र नभई जीवन नै सार्थक हुने बताए । त्यसै गरी विशेष अतिथिको भूमिकामा बसेका प्राडा देवी नेपालले पुरस्कार जित्नु नै सबै थोक नभएको तथा निरन्तर कविता लेखेर समाजसामु परिचित हुनु नै सबैथोक रहेको आशय व्यक्त गरे ।
निर्णायकको भूमिकामा रहेका छन्दकवि बलराम दाहालले आफ्नो छन्द कवितावाचन गरी प्रतिस्पर्धामा सहभागी पुरस्कृत विद्यार्थीको निर्णयसमेत सुनाएका थिए । कार्यक्रम संयोजन पुरुषोत्तम लामिछानेले गरेका थिए भने कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij