Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु

धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु

काठमाडौँ : ललितपुरको धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको छ । शुक्रबार प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको हो ।

गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परीक्षण सुरु गर्ने तयारी भइरहेको समयमा सोही वर्षको असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेका कारण प्रारम्भिक परीक्षण अवरुद्ध भएको थियो ।

गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिब सम्पन्न भएपछि प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण गरिएको हो ।

सो परीक्षण केन्द्रबाट प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सकिने केयुकेएल अन्तर्गतको आयोजनाका उपनिर्देशक ई.विकेश बधानथाछेले जानकारी दिए । सो केन्द्रको सञ्चालन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था रहेको छ ।

यसैगरी धोविघाटमा अर्को फोहोर पानी प्रशोधन केन्द्रसहित कोड्कु र सल्लाघारीमा समेत प्रशोधन केन्द्रहरूको निर्माण कार्य तदारुकताका साथ भइरहेको बधानथाछेले बताए ।

निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटको अर्को केन्द्रको पनि प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन १ करोड ७५ लाख लिटर र सल्लाघारीमा निर्माणाधीन केन्द्रको प्रतिदिन १ करोड ४२ लाख लिटर रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij