इच्छाकामना : गत वर्ष एक सय परिवारका लागि करिब २० हजारवटा सुन्तलाका बेर्ना अनुदानमा दिएको इच्छाकामना गाउँपालिकाले यसवर्ष पनि १७ हजार बिरूवा अनुदानमै वितरण गरेको छ । त्यसबाहेक, यसवर्ष दुई हजार कागतीका बिरूवा पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकालाई सुन्तला उत्पादनमार्फत समृद्ध बनाउने योजनासहित ५० प्रतिशत अनुदानमा सुन्तलाका बेर्ना वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।
यसवर्ष गाउँपालिकाले दुई थरी सुन्तलाका बिरूवा वितरण गरिएको उनले बताए । ‘कलमी र बिजी गरी दुई थरीको बिरूवा वितरण गरेका छौँ’, अध्यक्ष गुरूङले भने, ‘स्थानीय सरकारले ल्याएको कार्यक्रमले भोलि यही ठाउँको अर्थोपार्जनमा टेवा पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कम्तीमा तीन ठाउँलाई सुन्तलाको ‘पकेट क्षेत्र’ बनाउने योजनासहित सुन्तलाखेतीको कार्यक्रम ल्याएको उनको भनाइ छ ।
उनका अनुसार वडा नं–२ को तल्लो काउले र माथिल्लो काउले, वडा नं–३ को तल्लो डुँढे र माथिल्लो डुँढे तथा वडा नं–५ को साठीमुरे क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र बनाउने गरी नयाँ बिरूवा उपलब्ध गराएको हो । पुरानो बगैँचा भएका ठाउँमा पनि नयाँ बिरूवा लगाएर सुन्तलाको उत्पादन बढाउँदै स्थानीय किसानको आयआर्जन गराउन गाउँपालिकाले प्रयास गर्दै आइरहेको उनले बताए ।
इच्छाकामना गाउँपालिकामा मात्रै करिब एक सय बिघा जमिनमा सुन्तलाखेती गर्दै आएको गाउँपालिकाको अनुमान छ । त्यसबाट हरेक वर्ष सरदर १० करोड रूपैयाँबराबरको कारोबार गर्दै आएको अध्यक्ष गुरूङले बताए । ‘सुन्तलाखेती ४० वर्ष पहिलेदेखि नै गर्दै आएको देखिन्छ । तर, व्यावसायिकरुपमा भने करिब १५ वर्षदेखि गर्दै आएका छन्’, उनले भने, ‘त्यसमा पनि वडा नं–५ को तामिनमा पाँच÷सात वर्षमात्रै सुन्तला उत्पादन भयो ।’
उनका अनुसार करिब ८०० मिटरको उचाइसम्मका सुन्तलाका बिरूवा मर्न थालेका छन् । त्यसभन्दा माथिल्लो उचाइमा भने खासै समस्या नदेखिएको उनले बताए । जलवायु परिवर्तनको असरले पनि यस्तो भएको हुन सक्ने उनको अनुमान छ ।
दारेचोकको माझगाउँ, सिरान गाउँ, तल्लो डुँढे, माथिल्लो डुँढेलगायतका गाउँमा अहिले पनि सुन्तला उत्पादन राम्रो छ । पामडाँडा, साठीमुरेलगायतका गाउँमा भने पुरानो बिरूवा मासिँदै गएको हुँदा नयाँ बगैँचा निर्माणको प्रयास गरिएको उनले बताए ।
‘तर, तामिनमा भने बिरूवाले छोटो समयमात्रै उत्पादन दिएर बिरूवा मरेको हुँदा भएको बिरूवा मासिइसकेपछि मात्रै नयाँ बगैँचा निर्माण गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘किनकि बिरूवा मरेपछि नयाँ बिरूवा लगाउँदा पनि त्यति राम्रो भएन ।’किसानहरुले व्यावसायिकरुपमै सुन्तलाखेती गर्न थालेपछि स्थानीय सरकारले पनि त्यसैलाई प्राथमिकतामा राखेर कृषिलक्षित कार्यक्रममध्ये सुन्तलाखेतीलाई नै प्रवद्र्धन गर्दै आएको उनको भनाइ छ ।
‘यसपटक पनि करिब ६० लाख रूपैयाँ बजेटमा सुन्तला र कागतीका बिरूवा वितरण गरिएको हो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले भने । सुन्तलाका लागि कलमी बिरूवामा ७१ रूपैयाँ ५० पैसा र बिजी बिरूवामा ११ रूपैयाँ ५० पैसा परेको उनले बताए ।
बिजी बिरूवाले भन्दा कलमी बिरूवाले छिटो र राम्रो उत्पादन दिने भएकोले यसपटक कलमी बिरूवातर्फ ध्यान केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सुन्तलाको उत्पादन हुने क्षेत्रमा हरेक वर्ष लगानी गर्दै जाने जनाएको छ । स्थानीयलाई सुन्तलाखेतीकै माध्यमबाट आयआर्जन गराउनका लागि गाउँपालिकाको कार्यक्रम सहयोगी बन्ने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij