Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

प्रदेशमै उत्कृष्ट बन्रयाे बछौली माविको प्राविधिक शिक्षा

प्रदेशमै उत्कृष्ट बन्रयाे बछौली माविको प्राविधिक शिक्षा

रत्ननगर : चितवनको सौराहास्थित बछौली माविमा सञ्चालित प्राविधिक शिक्षाले प्रदेशमै उत्कृष्टता हासिल गरेको छ । प्राविधिक धारतर्फ होटल म्यानेजमेन्टमा ३ वर्षे डिप्लोमा, २ वर्षे अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुल तालिम सञ्चालन गरिरहेको सो विद्यालय प्राविधिक शिक्षा कार्यान्वयनमा उत्कृष्ट भएको हो ।

रत्ननगरका अन्य पाँचवटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेको बेला बछौली माविले भने प्राविधिक शिक्षामा उत्कृष्ट हुँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पुरस्कृत तथा सम्मानित भएको छ । हेटौँडामा आयोजित प्रदेशस्तरीय सीप विकास महोत्सवमा विद्यालयलाई सम्मान गरिएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र सामाजिक विकासमन्त्री हरिप्रभा खत्रीले बछौली माविका अध्यक्ष राममणि खनाल र प्रधानाध्यापक शिवराम मरहठ्ठालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, सीप महोत्सवको अवसरमा गरिएको प्रतियोगितात्मक कार्यक्रममा उक्त विद्यालयमा प्राविधिक शिक्षा आर्जन गरिरहेकी विपिका थापामगर प्रदेशमै प्रथम भएर पुरस्कृत भएकी छन् । दुईवर्षे औद्योगिक प्रशिक्षार्थी परीक्षामा ९५ दशमलब ४५ प्रतिशत अङ्क प्राप्त गरी सोही विद्यालयका सरोज दनुवार नेपालमै उत्कृष्ट भएका छन् । थापामगर र दनुवारलाई पनि मुख्यमन्त्री लामा र मन्त्री खत्रीले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

सामाजिक विकास मन्त्रालय र प्रदेश उद्योग परिसंघको संयुक्त आयोजना तथा इन्स्योर परियोजना र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सीप महोत्सवमा बछौली मावि र उक्त विद्यालयमा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यालयहरु पुरस्कृत तथा सम्मानित भएका हुन् ।

बछौली माविले २०७६ सालबाट प्राविधिक शिक्षाको होटल म्यानेजमेन्ट सुरू गरेको हो । पर्यटन उद्योग तथा औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको होटल म्यानेजमेन्टमा ३ वर्षे डिप्लोमा, २ वर्षे अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुल तालिम सञ्चालन भइरहेको प्रधानाध्यापक मरहठ्ठाले बताए ।

३ वर्षे डिप्लोमातर्फ ४० जना विद्यार्थीले अध्ययन पूरा गरी रोजगारीमा जोडिएका छन् भने सोही विषयमा हाल ६८ जना अध्ययन गरिरहेका छन् । २ वर्षे अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी)तर्फ २०० जनाले अध्ययन गरिरहेको प्रधानाध्यापक मरहठ्ठाले जानकारी दिए । १० महिने प्रोफेसनल कुल तालिमतर्फ १०० जनामध्ये ८० जना सीप परीक्षणमा उत्तीर्ण भएर स्वदेश तथा विदेशमा रोजगारी गरिरहेका छन् ।

बछौली माविमा होटल म्यानेजमेन्टमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सौराहा, पोखराका होटलहरुमा प्राक्टिकल गराउँदै आइएको छ । विद्यालयले होटलहरुमा समन्वय गरी थोरै भए पनि मासिकरुपमा कमाइ हुने गरी होटलहरुमा प्रशिक्षार्थी विद्यार्थी पठाउने गरिएको विद्यालयका अध्यक्ष खनालले बताए ।

‘हामीले पढ्दै कमाउँदै भन्ने अवधारणालाई आत्मसात् गरेका छौँ’, उनले भने, ‘होटलमा व्यावहारिक शिक्षा लिइरहेका विद्यार्थीहरुले थोरै भए पनि पारिश्रमिक पाउँछन् ।’ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न मुस्किल रहेको भन्दै उनले सामाजिक विकास मन्त्रालयले गरेको सम्मानले ऊर्जा थपेको बताए । प्राविधिक शिक्षा सञ्चालनमा सरकारी सहयोग अपेक्षाकृत नरहेको भन्दै उनले दाताको भरमा होटल म्यानेजमेन्टलाई अगाडि बढाउन बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij