खैरहनी: पूर्वी चितवनको खैरहनी नगरपालिकामा शैक्षिक धरोहरको रूपमा स्थापित भुवानीशंकर कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
कक्षा ११ को नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला भएको जानकारी दिँदै कलेजले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ३ महिनादेखि १२ महिनासम्मको छात्रवृत्ति प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
कलेजका प्रमुख दिपकप्रसाद गौतमले एसईईमा ३.६ वा सोभन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई १२ महिनाको पूर्ण छात्रवृत्ति, ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरूलाई ६ महिनाको छात्रवृत्ति, र २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरूलाई ३ महिनाको छात्रवृत्ति प्रदान गरिने बताए। छात्रवृत्तिका लागि अनिवार्य रूपमा फारम भर्नुपर्ने उनले उल्लेख गरे।
कक्षा ११ मा व्यवस्थापन, मानविकी, र शिक्षा शास्त्र संकायमा नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन हुने जानकारी दिँदै उनले व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, र जनरल म्यानेजमेन्ट, तथा शिक्षा शास्त्र संकायमा अंग्रेजी, गणित, नेपाली, र स्वास्थ्य विषयहरू उपलब्ध रहेको बताए।
वि.सं. २०५९ मा स्थापना भएको यो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो। विगत २२ वर्षदेखि खैरहनीमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भुवानी शंकर कलेजले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको सहायक क्याम्पस प्रमुख चेतराज रेग्मीले बताए। उनले कलेजले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर दक्ष र योग्य प्राध्यापकहरूबाट अध्यापन गराइरहेको उल्लेख गरे।
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई समेत विभिन्न छात्रवृत्तिहरू प्रदान गरिँदै आएको उनको भनाइ छ। खैरहनी नगरपालिकाद्वारा कलेजमा अध्ययन गर्ने दलित, आदिवासी, जनजाति, र विपन्न समुदायका विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सहायक क्याम्पस प्रमुख रेग्मीका अनुसार, प्रदेश सरकार र विश्वविद्यालय अनुदान आयोग (युजिसी) मार्फत समेत छात्रवृत्ति उपलब्ध गराइन्छ। क्यूएए (गुणस्तर सुनिश्चितता तथा प्रत्यायन) प्रमाणपत्र प्राप्त यो कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति र विपन्न विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्यूएए प्रमाणपत्र प्राप्त गर्नुले यो कलेजको शैक्षिक विश्वसनीयता र गुणस्तरलाई थप पुष्टि गर्छ।
भुवानीशंकर कलेजले आधुनिक पूर्वाधार र विद्यार्थी-केन्द्रित शिक्षण विधिमा जोड दिएको छ। प्रशस्त खेलमैदानसहितको भवन, फ्रि वाइफाई जोनसहित तीव्र गतिको इन्टरनेट सुविधा, खेलकुद, क्षेत्र भ्रमण, र शैक्षिक भ्रमणका अवसरहरू उपलब्ध छन्। शान्त र मनोरम वातावरणमा अध्यापन हुने यो कलेजले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला भएको र इच्छुक विद्यार्थीहरूलाई समयमै फारम भरेर छात्रवृत्तिका लागि आवेदन दिन कलेजले आह्वान गरेको छ। थप जानकारीका लागि कलेजको प्रशासन कार्यालयमा सम्पर्क गर्न सकिनेछ। गुणस्तरीय शिक्षा, समावेशी अवसर, र आधुनिक सुविधाहरूमार्फत भुवानी शंकर कलेजले खैरहनी क्षेत्रमा शैक्षिक हबको रूपमा आफ्नो स्थान बलियो बनाउँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij