पर्वत : वर्षाका लागि छाया क्षेत्र मानिने हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ लारजुङ खोलामा बाढी आएपछि मध्यरातमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले उद्दार गरेको छ ।
अविरल वर्षा सँगै खोला बढेर लारजुङ गाउँ जोखिममा परेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल सहितको टोलीले बस्तीलाई बाढी बाट जोगाएको हो । भुसालको अनुसार आइतबार राती खोलामा बाढी आएको स्थानीयबासीहरुले जानकारी गराएपछि सुरक्षाकर्मी सहितको टोली त्यहाँ पुगेको थियो । उक्त विपद् उद्धार टोलीले एक्स्काभेटरको प्रयोग गरी खोलाको बहाब नै परिवर्तन गरेर बस्ती जोगाउन सफल भएको प्रजिअ भुसालले बताउनुभयो ।
खोलामा पानीको बहाव उच्च रहेको थियो । पानीको बहावले खोलामा राखिएको झोलुङ्गे पुललाई समेत सामान्य असर गरेको स्थानीयवासी भीमबहादुर रसाइलीले बताउनुभयो ।मुस्ताङमा गर्मी बढेसँगै वर्षा पनि अविरल हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बस्तीमा २५ जनाको समूहमा स्वयंसेवक टोली बनाएको छ । जुनसुकै समयमा पनि विपद् आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त स्वयंसेवक टोली मार्फत सूचना गरी उद्धार कार्यमा खट्न सबैलाई सचेत बनाइएको प्रजिअ भुसालले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij