Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

‘सिमेन्टको व्यापार सकारात्मक छ, यसले उद्योगको दिगोपन संकेत गर्छ’

‘सिमेन्टको व्यापार सकारात्मक छ, यसले उद्योगको दिगोपन संकेत गर्छ’

शिवम‍् सिमेन्टले ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने नाराका साथ एक वृहत् सामाजिक सचेतना अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियानमार्फत निर्माण क्षेत्रमा मात्र नभई आम मानिसको जीवनशैली र व्यवहारमा समेत सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।

कम्पनीले निर्माणको काम केही सुस्त हुने समय वर्षायामको ‘अफ–सिजन’मा यो अभियान ल्याउनुको कारण यसले उपभोक्ता र बजारमा पर्ने प्रभाव, नेपाली सिमेन्ट बजारको वर्तमान अवस्था, अवसर र चुनौतीलगायत विषयमा केन्द्रित रहेर शिवम‍् सिमेन्टका उपमहाप्रबन्धक राममणि त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंशः

समग्रमा सिमेन्ट बजारको वर्तमान अवस्था कस्तो छ ?

नेपाली सिमेन्ट बजार अहिले सकारात्मक दिशातर्फ उन्मुख छ । केही समय अघिसम्म उद्योगबिच अत्यधिक मूल्य प्रतिस्पर्धा थियो । जसले गर्दा कुनै पनि उद्योगले राम्रो मुनाफा लिन सकिरहेको थिएन । तर गत मंसिरयता बजारमा एक किसिमको स्थायित्व आएको छ । सबै कम्पनीहरूले मूल्यमा थोरै सुधार गरेका छन् । जसले गर्दा उद्योगहरू उत्साहित भएका छन् ।

६–७ वर्षअघिकै मूल्यमा सिमेन्ट बेच्न कम्पनीहरू सफल भएका छन् । यसले उद्योगको स्वास्थ्य र दिगोपनका लागि राम्रो संकेत गरेको छ र व्यापार पनि तुलनात्मक रूपमा राम्रो बाटोतिर गइरहेको हामीले महसुस गरेका छौँ ।

rammani-tripathi (1)

यो समग्र परिदृश्यमा शिवम‍् सिमेन्टको बजार हिस्सा कति छ ?

हामीले बजारबाट संकलन गरेको तथ्यांक र आफ्नो बिक्रीलाई तुलना गर्दा शिवम‍् सिमेन्टले करिब २० देखि २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । विशेषगरी ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) मा हामी पहिलो नम्बरमा छौँभन्दा फरक पर्दैन । हामी बजारको एक अग्रणी कम्पनी हौँ ।

निर्माणको अफ–सिजन मानिने यो समयमा ‘नो कम्प्रोमाइज’ जस्तो बृहत् क्याम्पियन ल्याउनुको उद्देश्य के हो ?

यो क्याम्पेन निर्माणको सिजन वा अफ–सिजनलाई हेरेर ल्याइएको होइन । यो हाम्रो ब्रान्डको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो । ‘नो कम्प्रोमाइज’ हाम्रा लागि नारा मात्र होइन, यो हाम्रो कार्यशैली र दर्शन हो । हामीले यो अभियानमार्फत के सन्देश दिन खोजेका छौँ भने जीवनको कुनै पनि क्षेत्रमा गुणस्तर र इमानदारितासँग सम्झौता गर्नु हुँदैन । घर निर्माण जीवनकै सबैभन्दा ठुलो लगानी हो ।

यस्तो महत्त्वपूर्ण काममा कमसल सामग्री प्रयोग गरेर वा प्रक्रियामा सम्झौता गरेर पछि पछुताउनु नपरोस् भन्ने हाम्रो चाहना हो । यो अभियानले उपभोक्तालाई सचेत गराउँदै सही निर्णय लिन प्रेरित गर्छ । जुन सिजन वा अफ–सिजन दुवै हुँदा केही फरक पर्दैन ।

rammani-tripathi (6)

शिवम‍्ले सुरु गरेको क्याम्पियन सिमेन्टको विज्ञापन मात्र हो कि यसले अरू केही सन्देश दिन खोजेको हो ?

शिवम‍् सिमेन्टले चलाएको क्याम्पियन सिमेन्टको विज्ञापन मात्रै होइन । यदि विज्ञापन मात्रै गर्नु थियो भने हामी ‘हाम्रो सिमेन्ट किन्नुहोस्, यति बलियो छ’ भन्न सक्थ्यौँ । तर, ‘नो कम्प्रोमाइज’ एउटा सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो । यसले उपभोक्ता, निर्माता, बिक्रेता र समग्र समाजलाई नै एउटा सकारात्मक सन्देश दिन्छ ।

जस्तोः घर बनाउने व्यक्तिले गुणस्तरमा सम्झौता नगरोस्, सिमेन्ट उत्पादकले आफ्नो उत्पादनको गुणस्तरमा सम्झौता नगरोस्, बिक्रेताले सही चिज बेच्नमा सम्झौता नगरोस् र समाजको कुनै पनि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्न सम्झौता नगरोस् भन्ने हाम्रो मूल भाव हो ।

हाम्रो विज्ञापनमा पनि तपाईंले ट्राफिक प्रहरीले आफ्नो कर्तव्य पालनामा कसैसँग सम्झौता नगरेको देख्नुहुन्छ । त्यो एउटा प्रतीक हो । यसले शिवम‍् सिमेन्टको ब्रान्डलाई त सम्झाउँछ नै, त्योभन्दा बढी समाजमा एउटा सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ ।

उपभोक्तालाई सचेत गराउन शिवम‍् सन्देशजस्ता कार्यक्रम पनि ल्याउनुभएको छ, यो के हो ?

‘शिवम‍् सन्देश’ उपभोक्तालाई प्राविधिक रूपमा सबल र सचेत बनाउने हाम्रो अर्को महत्त्वपूर्ण पहल हो । घर बनाउने सामान्य मानिसलाई निर्माणसम्बन्धी प्राविधिक ज्ञान हुँदैन । उहाँहरू ठेकेदार वा मिस्त्रीको भरमा पर्नुहुन्छ । कहिलेकाहीँ सही जानकारीको अभावमा गलत निर्णय हुन सक्छ ।

त्यसैले हामीले निर्माणका हरेक चरण, जग्गा छनोटदेखि लिएर नक्सा, ढलान, फिनिसिङ र इन्टेरियरसम्मका विषयमा सरल भाषामा बुझ्न सकिनेगरी जानकारीमूलक भिडियो र सामग्रीहरू ‘शिवम‍् सन्देश’ मार्फत उपलब्ध गराएका छौँ । यो एक किसिमको संग्रह हो ।जसले उपभोक्तालाई आफ्नो घर बनाउँदा के सही, के गलत भनेर छुट्याउन मद्दत गर्छ र उहाँहरूलाई आत्मविश्वासी बनाउँछ ।

rammani-tripathi (3)

सरकारी नीतिका कारण पनि सिमेन्ट उद्योगलाई अप्ठ्यारो परेको गुनासो सुनिन्छ नि ?

सरकारले लिएका केही नीतिगत कुराहरूले समग्र उद्योग र बजारलाई प्रभाव पार्छ । पछिल्लो बजेटमा सरकारले प्रतिकिलो लाग्दै आएको अन्तःशुल्कलाई हटाएर समग्र मूल्यको ५ प्रतिशत लगाउने निर्णय गर्‍यो । यसले गर्दा प्रतिबोरा सिमेन्टको मूल्यमा २५ देखि ३० रुपैयाँसम्मको भार थपिएको छ ।

एकातिर लोडसेडिङजस्ता समस्याले उद्योगहरूले आफ्नै पावर प्लान्ट चलाएर उत्पादन लागत बढाइरहेका छन्, अर्कोतिर यस्तो नीतिले उपभोक्तामाथि मूल्यको चाप बढेको छ । यद्यपि, सरकारले उद्योग स्थापना भएका ठाउँमा पूर्वाधार विकास, बाटोघाटो निर्माणजस्ता कुरामा सहयोग पनि गरेको छ । तर, नीतिगत स्थायित्व उद्योगका लागि निकै महत्त्वपूर्ण हुन्छ ।

नयाँ उपभोक्ताले शिवम‍् सिमेन्ट नै किन रोज्ने?  अरूभन्दा के फरक छ ?

हामीले जस्तोसुकै कठिन परिस्थितिमा पनि उपभोक्ताको साथ छोडेका छैनौँ । चाहे त्यो नाकाबन्दीको समय होस् वा कोभिड–१९ को महामारी, जब अरू उद्योग बन्द थिए, हामीले आफ्नो फ्याक्ट्रीबाट सिमेन्ट उपलब्ध गरायौँ । कोभिडको समयमा हामीले मोबाइल एपबाटै अर्डर लिएर घर–घरमा सिमेन्ट पुर्‍यायौँ । यो हाम्रो विश्वसनीयताको प्रमाण हो ।

rammani-tripathi (5)

शिवम‍् सिमेन्ट नेपालको एक मात्र प्रमुख निजी कम्पनी हो, जसले ओपीसी सिमेन्ट मात्र उत्पादन गर्छ । यसको अर्थ, हाम्रो उत्पादनमा गुणस्तरको एकरूपता छ । हामीले एउटै गुणस्तरको उत्पादन मात्र बजारमा पठाउँछौँ ।हामी नेपाल गुणस्तर अवार्ड पाउने पहिलो सिमेन्ट कम्पनी हौँ । यो सरकारी निकायबाटै हाम्रो गुणस्तर प्रमाणित भएको हो ।

शिवम‍्ले सिमेन्ट बेचेर मात्र चुप लाग्दैनौँ । हामीसँग ‘मोबाइल भ्यान’ छ, जसमा सिमेन्ट परीक्षण गर्ने मेसिनहरू हुन्छन् । उपभोक्ताले चाहेमा हामी उहाँको घर निर्माणस्थलमै गएर सिमेन्टको गुणस्तर परीक्षण गरिदिन्छौँ । हाम्रो इन्जिनियरहरूको टोलीले निःशुल्क प्राविधिक सल्लाह दिन्छ । हाम्रो टोल–फ्री नम्बरमार्फत जुनसुकै वेला सम्पर्क गर्न सकिन्छ।

शिवम‍्को वितरण सञ्जाललाई यति बलियो बनाएका छौँ कि, उपभोक्ताले मागेको समयमा सिमेन्ट पाउनुहुन्छ । हामीले दिन सक्ने प्रतिबद्धता मात्र गर्छौँ र गरेको प्रतिबद्धता पूरा गर्छौँ ।

नेपाली सिमेन्ट बजारका भावी अवसर र चुनौतीहरू के–के देख्नुहुन्छ ?

अवसरहरू प्रशस्त छन् । देश विकासको क्रममा छ । ठुला–ठुला पूर्वाधार निर्माण हुँदैछन् । भूकम्पपछिको पुनर्निर्माणले पनि सिमेन्टको माग बढाएको छ । अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा हटेर एक किसिमको समझदारी बनेको छ, यो सकारात्मक अवसर हो ।

rammani-tripathi (2)

चुनौतीको कुरा गर्दा, अस्थिर सरकारी नीति, बिजुलीको अभाव, उत्पादन लागतमा हुने वृद्धि प्रमुख हुन् । अहिले भएका उद्योगहरूले आफ्नो क्षमता विस्तार गरिरहेका छन् । भविष्यमा माग र आपूर्तिबिच सन्तुलन कायम राख्नु एउटा चुनौती हुनेछ । तर, सबै कम्पनीहरू मिलेर अघि बढे र सरकारले सहयोगी नीति लिए सिमेन्ट उद्योगको भविष्य उज्ज्वल देख्छु ।

अन्त्यमा, आम उपभोक्तालाई तपाईंको सन्देश के छ ?

शिवम‍् सिमेन्ट एउटा उत्पादन मात्र होइन, यो लाखौँ नेपालीको विश्वास हो । हामी यो विश्वासलाई कहिल्यै टुट्न दिँदैनौँ । हाम्रो ‘नो कम्प्रोमाइज’ अभियान यही विश्वासलाई थप बलियो बनाउने एउटा माध्यम हो । शिवम‍् उपभोक्तालाई सधैँ गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौँ । घर बनाउँदा होस् वा जीवनको कुनै पनि निर्णय लिँदा, गुणस्तरमा कहिल्यै सम्झौता नगर्नुहोस् भन्ने आग्रह मात्रै हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij