काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कञ्चनपुर र प्युठानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा महाशाखाले चेतावनी नै जारी गरेको छ ।
कञ्चनपुरको हनुमान नगरस्थित केन्द्रले आइतबार ४ बजे गरेको मापनअनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा १२४.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सेउलीबाङ केन्द्रको मापनअनुसार प्युठानमा १५४.८ मिलिमिटर वर्षा भएको छ ।
यता, अर्घाखाँचीको राङसिङ केन्द्रको मापनअनुसार पछिल्लो २४ घण्टामा ११८.४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा नवलपरासी जिल्ला स्थित देउराली नवल वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने बिनै खोला लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनु हुनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी २४ घण्टा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लगायत देशका पहाडी भू–भागहरूका धेरै स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij