काठमाडौं : राष्ट्रिय धान दिवस ललितपुरको खुमलटारमा रोपाइँ गरी मनाइएको छ । कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रियस्तरका कलाकार र कर्मचारीहरू पनि सहभागी थिए । रोपाइँ स्थलमा मौलिक पहिरानमा सजिएका महिलाहरूको टोलीले पञ्चेबाजा बजाएको थियो । कृषिमन्त्री अधिकारीले मेसिनमार्फत् धान रोप्दा अरूले हातैले धान रोपे ।
रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हिलोबाट तर्किएर देश नबन्ने बताए । मानो खाएर मुरी उब्जाउने दिनको रूपमा मनाइने १५ असारमा दही चिउरा खाने चलन पनि छ । २९ मंसिर २०६१ मा मन्त्रीस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रको परिसरमा हरेक वर्ष धान रोप्ने चलन छ ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । धान रोप्ने क्रममा ‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता असारे भाकामा गाउने गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij